२०८३ आश्विन १२

नारायणी पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकालिँदै

काठमाडौं । चितवनको नारायणगढस्थित नारायणी नदीको पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्न थालिएको छ।

नदीमा पानीको बहाव घटेपछि क्रुजलाई सुरक्षित रूपमा हटाउन यान्त्रिक उपकरणसहित उद्धार टोली परिचालन गरिएको हो।

अविरल वर्षापछि आएको भीषण बाढीले किनारमा बाँधेर राखिएको साढे दुई तले क्रुजलाई बगाएर पुलको पिलरसम्म पुर्‍याएको थियो। क्रुज पिलरमा अड्किएपछि पुलमा समेत क्षति पुग्ने जोखिम बढेको थियो।

स्थानीय प्रशासनले आइतबार साँझदेखि नारायणी पुलमा सवारीसाधन र पैदलयात्रामा रोक लगाएको थियो। अहिले भने पुलबाट सवारीसाधनको आवतजावत खुला गरिएको छ।

नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा ‘राइनो क्रुज’ गत माघ १८ गतेदेखि सञ्चालनमा आएको थियो।

Read More

हिम्लुङ हिमालको हिमपहिरोमा अझै १४ जना सम्पर्कविहीन, खोजी जारी

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा खसेको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाहरूको खोजी कार्य जारी छ। सोमबार बिहानैदेखि हेलिकप्टरमार्फत तीन जनाको टोली खोजीमा परिचालन गरिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आइतबार नापाभूमि गाउँपालिका–५ स्थित ७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमालमा हिमपहिरो खसेको थियो। हिमपहिरोमा परी २७ जना सम्पर्कविहीन भएका थिए।

तीमध्ये ११ जना भने सम्पर्कमा आइसकेका छन्। उनीहरू पैदल हिँडेर आफैँ फुँ गाउँ आइपुगेका हुन्। घटनामा दुई जनाको शवसमेत फेला परेको छ भने अझै १४ जना सम्पर्कविहीन छन्।

हेलिकप्टरमार्फत खोजी, अनुभवी गाइड परिचालन

सम्पर्कविहीनहरूको खोजीका लागि अनुभवी गाइडहरूलाई समेत परिचालन गरिएको पौडेलले बताए। मौसम खुलेका कारण खोजी तथा उद्धार कार्यमा सहजता हुने अपेक्षा गरिएको उनको भनाइ छ।

हिमपहिरोमा फेला परेका दुई जनाको शव काठमाडौं पठाउने तयारी भइरहेको पौडेलले जानकारी दिए। खोजी कार्यलाई तीव्रता दिइएको र सम्पर्कविहीनहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।

Read More

पहिरोले ललितपुरमा घर भत्कियो, मानवीय क्षतिको विवरण आउन बाँकी

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले ललितपुरमा एउटा घर पूर्ण रूपमा भत्किएको छ।

ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरो खस्दा घर नै ढलेको हो। नगर प्रहरी विज्ञ सीताराम हाछेथुका अनुसार पहिरोका कारण सिंगो घर भत्किएको छ।

पहिरोका कारण घर भत्किएपछि घटनास्थलमा आवश्यक उद्धार तथा खोजी कार्यका लागि सम्बन्धित निकाय परिचालन भएको छ।

घटनामा मानवीय क्षति भए–नभएकोबारे भने थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

Read More

क्यान्सर अस्पतालमा एक वर्षमा २ लाख १२ हजारभन्दा बढीले लिए ओपिडी सेवा

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) सेवामार्फत दुई लाख १२ हजार ९७७ जनालाई सेवा प्रदान गरेको छ। अस्पतालले आफ्नो वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा हरेक वर्ष असोज १० गते वार्षिक स्वास्थ्य सेवा तथा उपचारसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ।

सन् २०२५ मा ओपिडी सेवा लिने कुल बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी रहेका थिए भने बाँकी पुराना बिरामी पुनः परीक्षणका लागि अस्पताल आएका थिए। अस्पतालका डा. सुशील अधिकारीका अनुसार सो वर्ष अस्पतालमा आएका बिरामीमध्ये ६ हजार ८५८ जना नयाँ क्यान्सरका बिरामी पहिचान भएका छन्।

ओपिडी सेवामा बिरामीको संख्या बढ्यो

सन् २०२४ को तुलनामा सन् २०२५ मा अस्पतालको ओपिडी सेवा लिने बिरामीको संख्या बढेको छ। सन् २०२४ मा दुई लाख चार हजार ९७१ जनाले ओपिडी सेवा लिएका थिए, जसमा ३१ हजार ५६० जना नयाँ बिरामी थिए। सोही वर्ष सात हजार नौ जना नयाँ क्यान्सरका बिरामी पहिचान भएका थिए।

सेवा तथा विवरणसन् २०२४सन् २०२५
ओपिडी सेवा लिने बिरामी२,०४,९७१२,१२,९७७
नयाँ बिरामी३१,५६०२७,२४३
नयाँ क्यान्सरका बिरामी७,००९६,८५८
आकस्मिक सेवा लिने बिरामी३०,८०१२६,१२६
भर्ना भएर उपचार गर्ने बिरामी१२,०४७११,५५९
ठूला शल्यक्रिया३,१६९३,०९१
डे केयर सेवा२७,४९३—
विकिरण प्रविधिबाट उपचार—२,९७०
डे केयरमार्फत केमोथेरापी—२६,४७२

सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएका छन् भने ११ हजार ५५९ जना बिरामी भर्ना भएर अन्तरङ्ग सेवा लिई उपचार गराएका छन्। सोही अवधिमा अस्पतालमा तीन हजार ९१ वटा ठूला शल्यक्रिया सम्पन्न भएका छन्।

यसअघि सन् २०२४ मा आकस्मिक कक्षबाट ३० हजार ८०१ जनाले सेवा लिएका थिए भने १२ हजार ४७ जना भर्ना भएर उपचार गराएका थिए। सो वर्ष तीन हजार १६९ वटा ठूला शल्यक्रिया गरिएको थियो। यस्तै, २७ हजार ४९३ जनाले डे केयर सेवा लिएका थिए।

सन् २०२५ मा २,९७० जनाले विकिरण उपचार लिए

सन् २०२५ मा विकिरण प्रविधि (सेकाई) मार्फत उपचार गराउने बिरामीको संख्या दुई हजार ९७० पुगेको छ। त्यस्तै, डे केयरमा भर्ना भई केमोथेरापी लिने बिरामीको संख्या २६ हजार ४७२ रहेको अस्पतालले जनाएको छ।

विपन्न १० हजार ९२० बिरामीको निःशुल्क उपचार

अस्पतालले एक वर्षको अवधिमा १० हजारभन्दा बढी विपन्न बिरामीलाई निःशुल्क उपचार सुविधा उपलब्ध गराएको छ। सन् २०२५ मा १० हजार ९२० जना विपन्न नागरिकले अस्पतालबाट निःशुल्क उपचार पाएका छन्।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार विपन्न बिरामीको उपचारबापत ४३ करोड १२ लाख १४ हजार १६१ रुपैयाँ १६ पैसा बराबरको छुट प्रदान गरिएको छ।

यस्तै, क्यान्सर सेवा समाजमार्फत १७६ जना बिरामीलाई १५ लाख ७३ हजार १४५ रुपैयाँ बराबरको छुट दिइएको छ।

तुलनात्मक रूपमा सन् २०२४ मा नौ हजार ११२ जना विपन्न बिरामीले उपचार सुविधा पाएका थिए। उनीहरूलाई ३५ करोड ५८ लाख २२ हजार २०६ रुपैयाँ ९५ पैसा बराबरको छुट दिइएको थियो। सोही वर्ष क्यान्सर सेवा समाजमार्फत २१५ जना बिरामीले १३ लाख ९० हजार ३६४ रुपैयाँ बराबरको छुट पाएका थिए।

विपन्न तथा छुटसम्बन्धी विवरणसन् २०२४सन् २०२५
निःशुल्क उपचार पाउने विपन्न बिरामी९,११२१०,९२०
विपन्न बिरामीलाई दिइएको छुटरु. ३५,५८,२२,२०६.९५रु. ४३,१२,१४,१६१.१६
क्यान्सर सेवा समाजमार्फत लाभान्वित२१५१७६
समाजमार्फत दिइएको छुटरु. १३,९०,३६४रु. १५,७३,१४५

जनरल बेड र खाना निःशुल्क

पाँच सय शय्या क्षमताको अस्पतालले आइसियू, एचडियू र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेड निःशुल्क उपलब्ध गराउँदै आएको डा. नेपालले बताए।

अस्पतालमा भर्ना भएर उपचाररत बिरामीलाई दुई छाक खाना र एक छाक नास्तासमेत पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने गरिएको छ।

एक सय चिकित्सकसहित ७१८ कर्मचारी कार्यरत

उपचार, अनुसन्धान तथा रोग निवारण र रोकथामको उद्देश्यसहित विसं २०५३ मा ऐनमार्फत सरकारको स्वायत्त संस्थाका रूपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको हो।

सुरुवातमा एक सय शय्या क्षमताको रहेको अस्पताल अहिले पाँच सय शय्यामा विस्तार भएको छ। चीन सरकारद्वारा निर्माण गरिएको यस अस्पतालमा नेपालका विभिन्न जिल्लाबाट मात्रै नभई भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्।

हाल अस्पतालमा एक सय जना चिकित्सक र २९५ जना नर्ससहित कुल ७१८ जना कर्मचारी कार्यरत छन्।

Read More

अविरल वर्षाले देशभर जनजीवन प्रभावित, दर्जनौँ सडक अवरुद्ध, बागलुङमा १० जनाको मृत्यु

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। पहिरो, लेदो र ढुंगा खस्दा दर्जनौँ सडकखण्डमा यातायात प्रभावित भएको छ भने बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ। एकजना अझै बेपत्ता छन्।

प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा मुख्य राजमार्गदेखि स्थानीय सडकसम्म पहिरोका कारण यातायात अवरुद्ध भएको छ। कतिपय सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा सडक खुलाउने प्रयास भइरहेको छ।

देशभरका विभिन्न सडकखण्ड अवरुद्ध

पाल्पाको तानसेन–१४ स्थित गाईघाट–तानसेन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। ललितपुरको टाकुर्चेमा लेदोसहित पहिरो खसेको तथा पाङदुरडोलमा भिरबाट ढुंगा खसेपछि कान्ति लोकपथसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

लमजुङमा खरखरे भीरमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडकखण्ड पूर्ण रूपमा बन्द छ। आँपचौर क्षेत्रमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग सडक भासिएर यातायात ठप्प भएको छ।

स्याङ्जाको पुतलीबजार–१ स्थित तिनधारे, सार्वजनिक शौचालय र बसपार्क क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ। तनहुँमा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

हुम्लाको सर्केगार्ड–१ खच्चामा पहिरो गएपछि कर्णाली करिडोर अवरुद्ध भएको छ। नवलपरासी पूर्वमा कालीगण्डकी करिडोरमा पनि यातायात सञ्चालन हुन सकेको छैन। मुस्ताङको जोमसोम–कोरला सडकखण्ड र दार्चुलाको महाकाली राजमार्गसमेत अवरुद्ध छन्।

यसैगरी म्याग्दीको बेनी–जोमसोम सडक, मकवानपुरको हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौं सडक, तुलसीपुर–घोराही सडक र जोमसोम–कोरला सडकमा समेत यातायात प्रभावित भएको छ।

काभ्रेको बीपी राजमार्ग र अरनिको राजमार्ग, ओखलढुंगाको सिद्धिचरण लोकमार्ग तथा मनाङको चामे–बेँसीसहर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, गुल्मीको सिस्नेभिर–रुद्रबिनी–वामीटक्सार सडक, बागलुङको मध्यपहाडी लोकमार्ग, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग र कालिकोटको कर्णाली राजमार्गमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। गुल्मीका अन्य राजमार्गहरूमा समेत अवरोध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तनहुँमा पहिरोले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सोमबार बिहान पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

लेदोसहितको पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए। रासस

बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता

अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो।

आइतबार मात्रै नौजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्। शनिबार एकजनाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु, एकजना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँचजनाको मृत्यु भएको छ।

तमानखोलामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु

तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घर बगाएको छ।

तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएकी छन्।

निसीखोलामा एकै परिवारका चारजनाको मृत्यु

निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन्।

यस्तै, निसीखोला गाउँपालिका–६ रंगिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ।

शनिबार पनि एकजनाको मृत्यु

शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो। यससँगै पछिल्लो दुई दिनमा बागलुङमा पहिरोका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको हो।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टरसहित सुरक्षा अधिकारीको टोली पुगेको थियो।

लगातारको वर्षाका कारण सडक तथा राजमार्ग अवरुद्ध हुनुका साथै विभिन्न जिल्लामा बाढी र पहिरोको जोखिम बढेको छ। अवरुद्ध सडकमा सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यात्रा गर्नुपर्ने सर्वसाधारणलाई सम्बन्धित सडक तथा राजमार्गको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न तथा पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका अधिकांश भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। विशेषगरी हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुनसक्ने भएकाले ती क्षेत्रमा आवतजावत तथा दैनिक गतिविधिमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

विभागको पछिल्लो विवरणअनुसार पश्चिम नेपालका विभिन्न स्थानमा वर्षाको सम्भावना रहे पनि धेरै स्थानमा वर्षाको सम्भावना अघिल्लो दिनको तुलनामा घटेको देखिन्छ। विभागको आजको विवरणमा डडेलधुरामा वर्षाको सम्भावना ४० प्रतिशत, दिपायलमा ४० प्रतिशत, धनगढीमा ३० प्रतिशत, वीरेन्द्रनगरमा ३० प्रतिशत, नेपालगञ्जमा २० प्रतिशत र जुम्लामा २० प्रतिशत रहेको उल्लेख छ।

कोशी प्रदेश

कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हल्का हिमपातको सम्भावना रहेकाले हिमाली क्षेत्रतर्फ यात्रा गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न उपयुक्त हुने देखिन्छ।

मधेस प्रदेश

मधेस प्रदेशका अधिकांश भू–भागमा मौसम आंशिक बदली रहने सम्भावना छ। प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। वर्षाको सम्भावना रहेका स्थानमा सडक तथा दैनिक आवागमन प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सुझाएको छ।

बागमती प्रदेश

बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा मौसममा समयअनुसार परिवर्तन हुनसक्ने भएकाले बाहिरी गतिविधि तथा लामो दूरीको यात्रामा मौसमको पछिल्लो अवस्था हेर्नुपर्ने देखिन्छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा उच्च हिमाली भू–भागमा हिमपात हुनसक्ने विभागले जनाएको छ। हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर यात्रा गर्न आग्रह गरिएको छ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा आंशिक बदली रहने सम्भावना छ। प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने देखिएको छ। वर्षाको सम्भावना रहेका क्षेत्रमा सडक यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने सम्भावना छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। विभागको पछिल्लो विवरणमा वीरेन्द्रनगरमा वर्षाको सम्भावना ३० प्रतिशत र जुम्लामा २० प्रतिशत रहेको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागको पछिल्लो पूर्वानुमानअनुसार डडेलधुरामा वर्षाको सम्भावना ४० प्रतिशत, दिपायलमा ४० प्रतिशत र धनगढीमा ३० प्रतिशत रहेको छ। तापक्रमका हिसाबले पनि तराई क्षेत्रमा तुलनात्मक रूपमा गर्मी रहने देखिएको छ।

वर्षा, मेघगर्जन तथा चट्याङको सम्भावना भएका क्षेत्रमा खुला स्थानमा नबस्न, आवश्यक नभएसम्म जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न तथा स्थानीय मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै बाहिरी गतिविधि सञ्चालन गर्नुपर्ने देखिन्छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले पदयात्रा तथा पर्वतीय गतिविधिमा संलग्नहरूले थप सावधानी अपनाउन आवश्यक छ।

जल तथा मौसम विज्ञान विभागले मौसम तथा जलजन्य जोखिमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्दै आएको छ। विभागको वेबसाइटमा मौसम पूर्वानुमान, विशेष मौसम पूर्वानुमान, तीनदिने मौसम बुलेटिन तथा बाढी पूर्वसूचनासम्बन्धी विवरण उपलब्ध छन्। आकस्मिक तथा गम्भीर मौसम वा बाढीसम्बन्धी सूचनाका लागि विभागले टोल–फ्री नम्बर ११५५ समेत उपलब्ध गराएको छ।

Read More

आजको राशिफल

२०८३ असोज १२ गते (२८ सेप्टेम्बर २०२६), सोमबार। आश्विन कृष्णपक्ष द्वितीया तिथि रहेको आज रेवती नक्षत्र दिउँसो १२ः०२ बजेसम्म रहनेछ भने त्यसपछि अश्विनी नक्षत्र सुरु हुनेछ। चन्द्रमा पनि दिउँसो १२ः०२ बजेसम्म मीन राशिमा र त्यसपछि मेष राशिमा प्रवेश गर्नेछ। ग्रह–नक्षत्रको यही परिवर्तनका कारण दिनको पूर्वार्ध र उत्तरार्धमा कार्य, आर्थिक अवस्था तथा सम्बन्धका विषयमा फरक प्रभाव देखिन सक्ने ज्योतिषीय संकेत छ। आज केही राशिका लागि नयाँ अवसर र लाभको सम्भावना देखिए पनि कतिपयले खर्च, स्वास्थ्य तथा व्यवहारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

मेष — Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुवाती खर्च भए पनि भविष्यमा लाभ दिने क्षेत्रमा लगानीको अवसर मिल्न सक्छ। हतारमा चुनौतीपूर्ण काम नथाल्नु राम्रो हुनेछ। बिहान देखिएको छर–छिमेकको असमझदारी दिउँसोपछि कम हुँदै जानेछ। शुभचिन्तकको सहयोग पाइनेछ भने टाढाका साथीभाइबाट निम्तो आउन सक्छ। पारिवारिक भेटघाटले दिनलाई सुखद बनाउनेछ।

वृष — Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आम्दानी बढाउने नयाँ बाटो खुल्न सक्छ। निरन्तर प्रयासले स्थायी कामको सुरुवात हुनेछ र ऋणसम्बन्धी समस्या कम हुने संकेत छ। प्राप्त रकम विभिन्न आवश्यकतामा खर्च हुन सक्छ। अरूले तपाईंको मेहनतबाट फाइदा लिन खोज्न सक्छन्। दिउँसोपछि आकस्मिक खर्च बढे पनि यात्रा वा दीर्घकालीन लाभको काम अघि बढ्ने सम्भावना छ।

मिथुन — Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
सामाजिक क्षेत्रमा प्रशंसा पाउने काम गर्न सकिनेछ। आफ्नो क्षमता र प्रभाव बढ्नेछ भने नयाँ उपलब्धिको अवसर पनि देखिन्छ। साथीभाइको सहयोगबाट आर्थिक लाभ मिल्न सक्छ। दिउँसोपछि आम्दानीका नयाँ स्रोत खुल्नेछन्। यद्यपि आकस्मिक खर्च वा सरसापटमा रकम बाहिरिन सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला।

कर्कट — Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मेहनतअनुसार नयाँ अवसर प्राप्त हुने र दैनिक जीवनमा सकारात्मक परिवर्तन आउने संकेत छ। पेसा तथा व्यवसायमा लाभ मिल्नेछ। आत्मविश्वासका साथ अघि बढ्दा काम बन्नेछ। दिउँसोपछि सहयोगी हातहरू थपिनेछन्। जिम्मेवारी तथा सामाजिक भूमिकामा अवसर मिल्न सक्छ। प्रतिष्ठा बढाउने काममा सफलता हात पर्ने सम्भावना छ।

सिंह — Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्ने भएकाले कामको दबाब व्यवस्थापन गर्नु उचित हुनेछ। जिम्मेवारी बढे पनि अपेक्षाअनुसार उपलब्धि नहुँदा असन्तुष्टि हुन सक्छ। दिउँसोपछि सामाजिक तथा सामुदायिक काममा सक्रिय हुने अवसर मिल्नेछ। रोकिएको प्रतिष्ठा पुनः प्राप्त हुने र आर्थिक लाभको सम्भावना पनि छ।

कन्या — Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
बिहानको समय काम र पारिवारिक वातावरणका लागि अनुकूल रहनेछ। परिवारको साथले उत्साह बढाउनेछ र आवश्यक भौतिक साधन जुट्न सक्छ। दिउँसोपछि काममा केही अवरोध आउन सक्छ। अरूले तपाईंको श्रमबाट लाभ लिन खोज्न सक्छन्। स्वास्थ्य तथा उपचारमा खर्च बढ्ने र आर्थिक दबाब महसुस हुने सम्भावना छ।

तुला — Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनत र आत्मविश्वासले लक्ष्य नजिक पुग्न सकिनेछ। प्रतिस्पर्धामा राम्रो प्रदर्शन हुनेछ भने आवश्यक भौतिक साधन जुट्नेछन्। दीर्घकालीन फाइदाको काम सुरु गर्ने अवसर मिल्न सक्छ। अधिकार र प्रतिष्ठा कायम राख्न सफल भइनेछ। दिउँसोपछि भेटघाट तथा सामाजिक कार्यक्रममा सहभागी हुने अवसरसँगै पेसा–व्यवसायमा लाभ मिल्नेछ।

बृश्चिक — Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिहानको समय पारिवारिक साथ र व्यक्तिगत कामका लागि सकारात्मक रहनेछ। मनपर्ने सामग्री वा आवश्यक साधन जुटाउने अवसर मिल्न सक्छ। दिउँसोपछि नयाँ कामको सुरुवाततर्फ अग्रसर भइनेछ। निरन्तर प्रयासले राम्रो परिणाम दिनेछ। विरोध वा ईर्ष्या गर्नेहरूबाट समेत सहयोग मिल्न सक्छ। सानो लाभबाट सुरु भएको कामले दीर्घकालीन परिणाम दिन सक्छ।

धनु — Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
निर्णय लिन ढिलाइ गर्दा अवसर गुम्न सक्छ। अरूका आश्वासनमा भर पर्दा निराश हुन सकिने भएकाले व्यवहारिक निर्णय लिनुहोला। पुराना समस्या दोहोरिन सक्छन्। दिउँसोपछि परिस्थिति क्रमशः सहज बन्नेछ। बुद्धिमत्तापूर्वक काम गर्दा प्रतिष्ठा जोगाउन सकिनेछ। सिर्जनात्मक काम र प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो प्रगतिको संकेत छ।

मकर — Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
कम समयमा उपलब्धि हासिल गर्ने अवसर मिल्न सक्छ। आवश्यक भौतिक साधन जुट्नेछन् र प्रतिस्पर्धीलाई पछि पार्ने क्षमता बढ्नेछ। रोकिएका काम पूरा हुने सम्भावना छ। दिउँसोपछि साथीभाइसँग व्यवहार गर्दा संयम अपनाउनु राम्रो हुनेछ। हतार वा असावधानीले मेहनत खेर जान सक्छ। पेसा–व्यवसायमा अपेक्षित लाभ नदेखिए पनि प्रयास जारी राख्नुहोला।

कुम्भ — Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
लगनशीलता र प्रभावशाली प्रस्तुतिले प्रशंसा तथा आर्थिक लाभ दिलाउन सक्छ। आफ्ना विचारबाट अरूलाई प्रभावित पार्न सकिनेछ। प्रतीक्षा गरिएको परिणाम प्राप्त हुँदा उत्साह बढ्नेछ। दिउँसोपछि साथीभाइको सहयोग मिल्नेछ। दीर्घकालीन लाभ दिने योजना सुरु गर्न अनुकूल समय छ। व्यापार तथा आर्थिक क्षेत्रमा पनि सकारात्मक अवसर मिल्न सक्छ।

मीन — Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मेहनत र आत्मविश्वासले नयाँ अवसर दिलाउनेछ। दैनिक काममा सकारात्मक परिवर्तन आउन सक्छ। विरोधीको प्रभाव घट्नेछ भने सानो प्रयासबाट उल्लेखनीय लाभ मिल्न सक्छ। दीर्घकालीन फाइदा दिने काम सुरु गर्न सकिनेछ। बोली, तर्क र प्रस्तुतिको प्रभावले मानसम्मान तथा लाभ दिलाउने सम्भावना छ।

Read More