२०८३ कार्तिक ७

मनकामना केबलकार मंगलबार एक दिन बन्द हुने

काठमाडौं । नियमित मर्मतसम्भारका लागि मनकामना केबलकार मंगलबार एक दिन बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रालिका अनुसार चाडपर्वअघि केबलकारको नियमित मर्मतसम्भार गर्न सेवा बन्द गर्न लागिएको हो । सुरक्षित र व्यवस्थित सेवा सञ्चालनका लागि पूर्वनिर्धारित तालिकाअनुसार मर्मतको काम गर्न लागिएको कम्पनीले जनाएको छ ।

मर्मतसम्भारपछि बुधबारदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालनमा आउनेछ ।

Read More

एबिसी पदयात्रामा पर्यटकको चाप बढ्यो, दैनिक ३०० हाराहारी पुग्दै

काठमाडौं । अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा पर्यटकको चाप बढेको छ । सडक तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्ला दिनमा दैनिक करिब ३०० पर्यटक एबिसी पुग्न थालेका छन् ।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन उल्लेख्य बढेको छ । वर्षापछि मौसममा सुधार आउनु र अन्नपूर्ण क्षेत्रका अवरुद्ध सडक खुल्नुका साथै मनाङ तथा मनास्लु क्षेत्रका केही पदमार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएको हो ।

मनाङ र मनास्लु क्षेत्रका सडक तथा पदमार्ग पहिरोका कारण प्रभावित भएपछि एबिसी तुलनात्मक रूपमा सहज विकल्प बनेको गुरुङले बताए । दसैँपछि नेपाली पर्यटकको आगमनसमेत बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

यसअघि बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न सडक र पदमार्ग प्रभावित हुँदा पर्यटक आवागमन घटेको थियो । मोदी खोलाको कटानका कारण बिरेठाँटी र स्याउली बजारमा अवरुद्ध सडक करिब डेढ महिनापछि असोज पहिलो साता सञ्चालनमा आएको हो ।

अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार पोखरा–घान्द्रुक–एबिसी खण्डका सडक अहिले सञ्चालनमा छन् । केही स्थानमा अस्थायी व्यवस्था गरेर पदमार्गसमेत खुलाइएको छ । नयाँपुल, घान्द्रुक र छोम्रोङ हुँदै एबिसी पुग्न सकिने अवस्था बनेको उनले बताए ।

किम्रुङखोलाले बगाएको पक्की झोलुङ्गे पुलका कारण अवरुद्ध पदमार्गमा पनि काठे फड्के निर्माण गरेर आवागमन खुलाइएको छ ।

पर्यटकको बढ्दो चापलाई ध्यानमा राख्दै माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ । उच्च उचाइका कारण पर्यटकमा लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले केन्द्रबाट तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराइनेछ ।

समुद्री सतहबाट करिब ४ हजार १३० मिटर उचाइमा रहेको एबिसी अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालको दृश्यावलोकनका लागि लोकप्रिय पदयात्रा गन्तव्य हो ।

Read More

कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव

काठमाडौं । मुस्ताङको कोरला नाकालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा स्तरोन्नति गर्न चीनले नेपालसँग प्रस्ताव अघि बढाएको छ। यसअघि नेपालले पहल गर्दै आए पनि चिनियाँ पक्षबाट खासै चासो नदेखाइएको कोरला नाकाबारे पछिल्लो समय चीन स्वयं सकारात्मक देखिएको हो।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार चीनले नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा नेपाललाई सहयोग गर्न सकिने संकेतसमेत दिएको छ। अन्तर्राष्ट्रिय नाका बनेपछि नेपालसँगै अन्य मुलुकका नागरिकले पनि कोरला हुँदै चीन प्रवेश गर्न सक्नेछन्।

चीनले कोरला नाकालाई कैलाश मानसरोवर र ल्हासा जाने यात्रुका लागि वैकल्पिक स्थलमार्गका रूपमा विकास गर्न खोजेको बताइएको छ। हाल यात्रु आवतजावतका लागि प्रयोग हुँदै आएका तातोपानी र रसुवागढी नाका बन्द रहेकाले पनि कोरला सञ्चालनमा चिनियाँ चासो बढेको हो।

यसै क्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोलीले कोरला नाकाको स्थलगत अवलोकन गरेको छ। टोलीले नाकामा रहेका पूर्वाधार तथा काठमाडौं–कोरला सडकको अवस्थाबारे जानकारी लिएको थियो।

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ टोलीलाई जिल्लाको सडक तथा पूर्वाधारको अवस्थाबारे जानकारी दिइएको थियो। बाढीपहिरोका कारण मुस्ताङ–म्याग्दी सडक सम्पर्क प्रभावित भएको विषयसमेत टोलीलाई अवगत गराइएको उनले बताइन्।

कोरला नाकाको स्तरोन्नतिबारे औपचारिक निर्णय भने कूटनीतिक माध्यमबाट हुने बताइएको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु शेर्पाले नाका व्यवस्थित गर्न नेपालले पूर्वाधार विकासमा थप पहल गर्नुपर्ने बताएका छन्।

कोरला नाका २०८० कात्तिक २७ गते औपचारिक रूपमा खुलेको थियो। करिब ४ हजार ६ सय ५० मिटरको उचाइमा रहेको यो नाका पछिल्लो समय सीमित रूपमा व्यापारिक गतिविधिमा प्रयोग हुँदै आएको छ।

यसबीच नेपालले तातोपानी नाका पनि तत्काल सञ्चालन गर्न चीनसँग आग्रह गरिरहेको छ। महावाणिज्यदूत निरौलाका अनुसार तातोपानी नाका दशैंअघि नै खुल्न सक्ने सम्भावना छ।

Read More

चितवनमा असोज २३ देखि जंगल सफारी खुलाउने तयारी

काठमाडौं । वर्षायामका कारण बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी आगामी असोज २३ गते शुक्रबारदेखि पुनः सञ्चालन गर्ने तयारी गरिएको छ। निकुञ्जले जिप सफारीका लागि आवश्यक रुट मर्मत तथा व्यवस्थापनको काम अघि बढाइरहेको जनाएको छ।

निकुञ्जले गत असार १७ गतेदेखि जिप सफारी बन्द गरेको थियो। वर्षाका कारण आएको भलबाढीले विभिन्न सफारी रुटमा क्षति पुर्‍याएपछि बाटो मर्मत, ढलेका रुख हटाउने तथा सफारी मार्ग व्यवस्थित गर्ने काम भइरहेको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार असोजको दोस्रो साताबाटै सफारी सञ्चालन गर्ने योजना थियो। तर, त्यसै समयमा आएको ठूलो वर्षापछि निकुञ्जभित्रका खोल्सा तथा खोलामा आएको बाढीले रुटमा थप क्षति पुर्‍याएपछि सञ्चालन मिति पर धकेलिएको हो।

“असोजको दोस्रो साताबाट नै जिप सफारी सञ्चालन गर्ने तयारी थियो। तर त्यही समयमा ठूलो पानी परेका कारण निकुञ्जभित्रका विभिन्न खोल्सा तथा खोलामा आएको बाढीले रुटहरू बिगारेको छ। त्यसलाई बनाउँदै छौं,” थापामगरले भने।

उनका अनुसार असोज २३ गतेदेखि सफारी सञ्चालन गर्ने लक्ष्यसहित अहिले मर्मतको काम भइरहेको छ। काम समयमै सम्पन्न भएमा उक्त मितिबाट पर्यटकका लागि जिप सफारी खुला गरिनेछ।

Read More

राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँका सिक्का छाप्दै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँ दरका सिक्का उत्पादन गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सिक्काको डिजाइन, छपाइ, आपूर्ति र ढुवानीका लागि बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीसँग प्रतिस्पर्धात्मक प्रस्ताव मागेको हो।

बोलपत्र प्रक्रियामा पूर्वयोग्य कम्पनीहरूले मात्रै भाग लिन पाउनेछन्। बैंकले एक चरणको दुईवटा खाम प्रणालीमार्फत बोलपत्र अघि बढाउने जनाएको छ। यसअनुसार कम्पनीहरूले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ।

बोलपत्रका लागि कागजात कहिलेसम्म किन्न पाइन्छ? इच्छुक कम्पनीले ३ नोभेम्बर २०२६ सम्म मुद्रा व्यवस्थापन विभागबाट बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। कागजातको शुल्क २० हजार रुपैयाँ तोकिएको छ। विदेशी बोलपत्रदाताका लागि शुल्क १३१ अमेरिकी डलर वा ११५ युरो निर्धारण गरिएको छ।

बोलपत्र प्रक्रियाबारे थप जानकारी दिन बैंकले १६ अक्टोबर २०२६ मा पूर्वबोलपत्र बैठक राखेको छ। थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा हुने बैठक दिउँसो १२ बजे सुरु हुनेछ।

बोलपत्र बुझाउने म्याद ४ नोभेम्बरसम्म रहेको छ। सो दिन दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ भने दिउँसो १ बजे बोलपत्र खोलिनेछ। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिवसलाई अन्तिम मिति मानिनेछ।

कति रकमको बिड सेक्युरिटी चाहिन्छ? बोलपत्रमा सहभागी कम्पनीले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी राख्नुपर्नेछ। यस्तो जमानत बोलपत्र खोलिएको मितिदेखि १२० दिनसम्म मान्य हुनुपर्नेछ।

बैंकले बोलपत्रको समग्र वैधता अवधि ३ अप्रिल २०२७ सम्म रहने जनाएको छ। साथै, कालोसूचीमा रहेका कम्पनी तथा त्यस्ता कम्पनीसँग सम्बन्धित व्यक्तिलाई बोलपत्र प्रक्रियामा सहभागी हुन नदिइने स्पष्ट पारेको छ।

छनोट हुने कम्पनीले दुई रुपैयाँ दरका ३० करोड थान सिक्काको डिजाइनदेखि उत्पादन, आपूर्ति र ढुवानीसम्मको जिम्मेवारी सम्हाल्नेछ।

Read More

मौसम पूर्वानुमान : कुन प्रदेशमा कस्तो रहनेछ आजको मौसम?

काठमाडौं । नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग तथा देशका बाँकी तराई भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले आजको मौसम क्षेत्रअनुसार फरक रहने देखिएको छ।

कोसी प्रदेश : आज दिउँसो कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। ती क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ। प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। राति कोसी प्रदेशमा सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। तराईका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना छ।

मधेस प्रदेश : दिउँसो मधेस प्रदेशको मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति पनि प्रदेशमा सामान्यतया बदली रहने र थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

बागमती प्रदेश : दिउँसो बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ। तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्नेछ। राति हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्नेछ।

गण्डकी प्रदेश : आज दिउँसो गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। ती क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ। प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना छ। राति हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। तराईका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश : दिउँसो लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ। प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। राति लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कर्णाली प्रदेश : दिउँसो कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। राति पनि पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश : दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। राति पहाडी तथा तराई भूभागमा सामान्यतया बदली रहनेछ भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज विशेषगरी हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

Read More

सुरक्षा चिन्तापछि बेलायतबाट अमेरिकाले सबै बमवर्षक विमान फिर्ता पठायो

काठमाडौं । सम्भावित आतंकवादी आक्रमणको आशंकापछि अमेरिकाले बेलायतस्थित आफ्नो सैन्य हवाई अड्डाबाट सबै बमवर्षक विमान फिर्ता पठाएको छ। बेलायतको फेयरफोर्डस्थित हवाई अड्डामा तैनाथ अमेरिकी विमानलाई सुरक्षा अवस्थाको पुनर्मूल्याङ्कनपछि अमेरिकास्थित सैन्य अड्डामा फर्काइएको हो।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार फेयरफोर्डमा तैनाथ १२ वटा बी–१ बमवर्षक विमान अमेरिकामा रहेका आफ्ना सैन्य अड्डामा फर्किएका छन्। पेन्टागनले विमानको आवतजावतसम्बन्धी जानकारी सैन्य सुरक्षाका कारण तत्काल सार्वजनिक नगरिएको जनाएको छ।

फेयरफोर्ड हवाई अड्डानजिकै सम्भावित आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पाँच जना बेलायती नागरिकलाई पक्राउ गरिएको थियो। त्यसपछि बेलायती–इरानी दोहोरो नागरिकता भएका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएपछि घटनामा पक्राउ पर्नेको संख्या ६ पुगेको हो।

प्रहरीले अनुसन्धानका क्रममा शंकास्पद तीनवटा सवारीसाधनबाट केही मात्रामा पेट्रोल बरामद गरेको थियो। तर सवारीसाधनमा कुनै विस्फोटक पदार्थ भने फेला नपरेको अधिकारीहरूले बताएका छन्। पक्राउ परेका सबै व्यक्ति जमानतमा रिहा भइसकेका छन् र उनीहरूमाथिको अनुसन्धान जारी छ।

बेलायती अधिकारीहरूले घटनामा इरानको सम्भावित संलग्नताको संकेत रहेको ब

Read More

कांग्रेस महाधिवेशन : आज बन्दसत्रसँगै निर्वाचन प्रक्रिया अघि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सञ्चालन हुँदैछ। साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचनसम्बन्धी प्रारम्भिक प्रक्रिया पनि सुरु हुने भएको छ।

आइतबार काठमाडौंमा उद्घाटन सत्र सम्पन्न भएको थियो। आज बिहान ९ बजेबाट सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक विषय समेटिएका प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज साँझदेखि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। सुरुमा साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ।

प्रकाशित नामावलीमाथि दाबी विरोध दर्ताका लागि साँझ ६ः३० बजेसम्मको समय तोकिएको छ। त्यसपछि प्राप्त दाबी विरोधमाथि निर्वाचन समितिले आवश्यक जाँचबुझ गर्नेछ।

जाँचबुझको प्रक्रिया साँझ ७ः३० बजेसम्म पूरा गर्ने र त्यसपछि आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन समितिको कार्यतालिका छ।

Read More

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

आइतबार साँझ सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएको थियो। दुर्घटनामा भरतपुर महानगरपालिका–११ का २९ वर्षीय देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ का सागर थापा घाइते भएका थिए।

दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएको थियो। उपचारका क्रममा चिकित्सकले देवेन्द्र थापालाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइते सागर थापाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए।

Read More

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे बस्दैछ। बैठकपछि १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुने कार्यतालिका रहेको छ।बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमा पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशाबारे विषय समेटिएको छ।महामन्त्रीले बन्दसत्रमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि महाधिवेशन प्रतिनिधिहरूबीच छलफल हुने बताइएको छ।

असोज २२ गतेसम्म महाधिवेशन

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा जारी छ। महाधिवेशनको कार्यक्रम असोज २२ गतेसम्म सञ्चालन हुने बताइएको छ।

Read More