काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सञ्चालन हुँदैछ। साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचनसम्बन्धी प्रारम्भिक प्रक्रिया पनि सुरु हुने भएको छ।
आइतबार काठमाडौंमा उद्घाटन सत्र सम्पन्न भएको थियो। आज बिहान ९ बजेबाट सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक विषय समेटिएका प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज साँझदेखि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। सुरुमा साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ।
प्रकाशित नामावलीमाथि दाबी विरोध दर्ताका लागि साँझ ६ः३० बजेसम्मको समय तोकिएको छ। त्यसपछि प्राप्त दाबी विरोधमाथि निर्वाचन समितिले आवश्यक जाँचबुझ गर्नेछ।
जाँचबुझको प्रक्रिया साँझ ७ः३० बजेसम्म पूरा गर्ने र त्यसपछि आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन समितिको कार्यतालिका छ।





