२०८३ कार्तिक ७

‘झिँगेदाउ–२’ को कमाइ डेढ करोड नजिक

काठमाडौं । प्रदर्शनको १७औँ दिनसम्म नेपाली फिल्म ‘झिँगेदाउ–२’ले १ करोड ४५ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार असोज २ गतेदेखि प्रदर्शनमा आएको फिल्मले १७ दिनमा १ करोड ४५ लाख ६० हजार ६१६ रुपैयाँ ग्रस कलेक्सन गरेको हो। यस अवधिमा ४७ हजार ९५८ टिकट बिक्री भएका छन्। पछिल्लो एक सातामा मात्रै फिल्मले करिब १० लाख रुपैयाँ कमाएको तथ्यांकमा देखिन्छ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ। जेठानी र देउरानीबीचको विवादबाट सुरु हुने पारिवारिक कलहलाई कथाको मुख्य आधार बनाइएको छ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ।

‘झिँगेदाउ–२’ सन् २०७९ मा प्रदर्शनमा आएको सफल फिल्म ‘झिँगेदाउ’को सिक्वेल हो। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्मित फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ।

Read More

भोटेकोशी–त्रिशूली बाढी : अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित

काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यकबाहेकको खोज तथा उद्धार कार्य तत्कालका लागि स्थगित गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकता दिने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले प्रभावित क्षेत्रमा बाँकी अत्यावश्यक उद्धारका कामसँगै पुनर्निर्माण अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

बैठकले प्रभावित क्षेत्रका ५०४ योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

लागत अनुमान र प्राथमिकता निर्धारण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि थप बजेटका लागि सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।

परिषद्ले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, खोज, उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, स्वयंसेवक, निजी क्षेत्र र सञ्चारकर्मी तथा सहयोगी दातृराष्ट्र र विकास साझेदारप्रति धन्यवाद व्यक्त गरेको छ।

Read More

नेपाल एयरलाइन्स सुधार्न तीन वर्षे रणनीतिक योजना आवश्यक : सांसद रेग्मी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई आर्थिक रूपमा सबल र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन तीन वर्षे रणनीतिक कार्ययोजना अघि बढाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले निगमको व्यवस्थापन सुधार, डिजिटल टिकट बिक्री प्रणाली र उडान रुटको व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

रेग्मीले निगमको वित्तीय अवस्था सुधारका लागि प्रभावकारी वित्तीय अडिट आवश्यक रहेको उल्लेख गर्दै कुन गन्तव्यमा नाफा र कुन रुटमा घाटा भइरहेको छ भन्ने स्पष्ट विश्लेषण गर्नुपर्ने बताए। उनका अनुसार कार्गो र ग्राउन्ड ह्यान्डलिङ सेवाको आम्दानी तथा खर्चलाई छुट्टाछुट्टै लेखा प्रणालीमार्फत व्यवस्थापन गर्नुपर्छ।

जहाजको समयमै मर्मत तथा ओभरहाल हुन नसक्दा उडान प्रभावित हुने गरेकोतर्फ पनि उनले ध्यानाकर्षण गराए। यस्तो समस्या समाधान गर्न निगमको व्यवस्थापकीय संरचना र कार्यप्रणालीमै सुधार आवश्यक रहेको उनको भनाइ छ।

निगमले प्रतिस्पर्धी दरमा हवाई सेवा उपलब्ध गराउन सके विदेशी एयरलाइन्सले अस्वाभाविक रूपमा भाडा बढाउने अवस्थालाई नियन्त्रण गर्न सहयोग पुग्ने रेग्मीले बताए। यसबाट नेपाल आउने पर्यटकको लागत घट्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्न सक्ने उनको भनाइ छ।

थप जहाज लिजमा ल्याउन नेपालले ‘केपटाउन कन्भेन्सन’मा तत्काल हस्ताक्षर गर्नुपर्नेमा उनले जोड दिए। उक्त सम्झौतामा सहभागी नभएसम्म अन्तर्राष्ट्रिय बजारबाट विमान लिजमा ल्याउन व्यावहारिक कठिनाइ रहने उनले बताए।

निगमलाई व्यावसायिक रूपमा सक्षम बनाउन स्पष्ट समयसीमा तोकेर तीन वर्षभित्र व्यवस्थापकीय र संरचनागत सुधारका काम अघि बढाउनुपर्ने सांसद रेग्मीको सुझाव छ। उनले मन्त्रालय र निगम नेतृत्वलाई मापनयोग्य लक्ष्य निर्धारण गरेर काम गर्न आग्रह गर्दै आवश्यक परे संसदीय समितिबाट सहजीकरण गर्ने बताए।

Read More

विपद्पछिको पुनःनिर्माणमा सरकारको ठूलो तयारी, ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीसहित पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि सरकारले ५ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार स्वीकृत योजनाका लागि आवश्यक स्रोत व्यवस्थापन अर्थ मन्त्रालयमार्फत गरिनेछ। लागत अनुमान खुल्न बाँकी तथा प्राथमिकता निर्धारण हुन नसकेका आयोजनाको विवरण प्राप्त भएपछि थप बजेट व्यवस्थाका लागि सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई परिषद्ले निर्देशन दिएको छ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच भइरहेको समन्वयलाई पुनःनिर्माण र पुनःस्थापनामा पनि निरन्तरता दिइने बताए। यस कार्यमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीले पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्।

परिषद्ले भोटेकोशी–त्रिशूली बाढी तथा अन्य मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।

खोज, उद्धार, राहत तथा पुनःस्थापनामा परिचालित सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक र सञ्चारकर्मीका साथै सहयोग गर्ने दातृराष्ट्र तथा विकास साझेदारलाई परिषद्ले धन्यवादसमेत दिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवं परिषद्का सदस्य–सचिव डा. धर्मराज उप्रेतीका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धारसँगै पुनःनिर्माण र पुनःस्थापनाका कामलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने निर्णय भएको छ।

उनका अनुसार जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत निरीक्षणबाट प्राप्त सुझाव र सिफारिसका आधारमा पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी निर्णय गरिएको हो।

Read More

दशैंको किनमेलमा टाटा पन्च इभी जित्ने मौका, भाटभटेनी र सिप्रदीको विशेष योजना

काठमाडौं । दशैं नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ। दशैं, तिहार र छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेका छन्।

योजनाअनुसार भाटभटेनीका देशभरका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५ सय रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लकी ड्रमा सहभागी हुन सक्नेछन्। खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको विवरण दर्ता गरिनेछ र योजनाको अन्त्यमा लकी ड्रमार्फत एक जना विजेता छनोट गरी नयाँ टाटा पन्च इभी प्रदान गरिनेछ।

त्यसैगरी, भाटभटेनीबाट सामान खरिद गरी नेपाल पेबाट स्क्यानमार्फत भुक्तानी गर्ने ग्राहकले पनि अर्को टाटा पन्च इभी जित्ने अवसर पाउनेछन्। यससँगै योजनाअन्तर्गत दुई जना ग्राहकले टाटा पन्च इभी जित्न सक्नेछन्।

नयाँ पन्च इभीमा आधुनिक सुविधा

योजनाको मुख्य आकर्षणका रूपमा राखिएको टाटा पन्च इभी नयाँ पुस्ताको इलेक्ट्रिक एसयुभी हो। टाटा मोटर्सका अनुसार नेपाली बजारको आवश्यकता र ग्राहकको जीवनशैलीलाई ध्यानमा राखेर विकास गरिएको यस गाडीमा सुरक्षा, प्रविधि, आराम र कनेक्टिभिटीलाई प्राथमिकता दिइएको छ।

‘एक्ट.इभी’ प्लेटफर्ममा निर्माण गरिएको पन्च इभी २५ केडब्लुएच र ४० केडब्लुएच ब्याट्री क्षमताका दुई विकल्पमा उपलब्ध छ। नेपालमा गरिएको परीक्षणअनुसार पूर्ण चार्जमा गाडीले ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।

गाडीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, बिएनक्याप ५–स्टार सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा र १.५ सी डीसी फास्ट चार्जरजस्ता सुविधा छन्। त्यस्तै, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको टच इन्फोटेनमेन्ट तथा डिजिटल क्लस्टर, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस पनि उपलब्ध छन्।

टाटा मोटर्सका नेपालभर २० वटा सर्भिस सेन्टर सञ्चालनमा रहेको जनाइएको छ। साथै, देशभरका २८ वटा भाटभटेनी स्टोरबाट टाटा कारसम्बन्धी जानकारी लिन सकिने व्यवस्था गरिएको छ। दशैं अवधिमा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकलाई विभिन्न सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

Read More

आमसञ्चार क्षेत्र नियमनका लागि अधिकारसम्पन्न संयन्त्र बनाउने तयारी

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार तथा पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन नयाँ कानुनी तथा संस्थागत व्यवस्था अघि बढाइने बताएका छन्।

मन्त्रालयमा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी तथा मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्गासँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले प्रभावकारी नियमनका लागि अधिकारसम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका हुन्।

उनले सञ्चारमाध्यमको स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र व्यावसायिक बनाउन नियमन प्रणालीलाई स्पष्ट र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। पत्रकार आचारसंहिताको कार्यान्वयन, सञ्चारमाध्यमको जिम्मेवारी तथा नियमनसम्बन्धी व्यवस्थालाई स्पष्ट बनाउन नयाँ कानुनी प्रबन्ध आवश्यक रहेको उनको भनाइ थियो।

प्रस्तावित प्रेस काउन्सिल विधेयक र आमसञ्चार विधेयकमार्फत नियामक निकायलाई थप अधिकारसम्पन्न र कार्यान्वयनयोग्य बनाउने सरकारको तयारी रहेको मन्त्री तिमिल्सिनाले बताए। सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्ने संस्थागत संरचना विकासमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

आमसञ्चारसम्बन्धी विधेयक संसद् तथा संसदीय समितिमा पर्याप्त छलफलपछि आवश्यक संशोधनसहित अघि बढ्ने मन्त्री तिमिल्सिनाले विश्वास व्यक्त गरे। विधेयक निर्माण र परिमार्जनका क्रममा सञ्चार क्षेत्रका सरोकारवालाबाट प्राप्त सुझावलाई समेत समेटिने उनले बताए।

संघ, प्रदेश र स्थानीय तहबीच सञ्चार क्षेत्रसँग सम्बन्धित अधिकार, जिम्मेवारी तथा समन्वयलाई स्पष्ट पार्ने व्यवस्था पनि नयाँ कानुनमा समेटिने मन्त्री तिमिल्सिनाले जानकारी दिए। संघीय संरचनाअनुसार सञ्चारसम्बन्धी कानुन र संस्थागत व्यवस्थाबीच देखिएको समन्वयको कमीलाई नयाँ कानुनी व्यवस्थामार्फत सम्बोधन गर्ने सरकारको तयारी छ।

छलफलका क्रममा प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका प्रमुखहरूले भने विद्यमान कानुनी र संस्थागत समस्याबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चारमाध्यमको दर्ता, अभिलेखीकरण, अनुमतिपत्र तथा नियमनसम्बन्धी प्रावधान स्पष्ट बनाउन सुझाव दिएका छन्।

प्रदेशका पदाधिकारीहरूले संघीय र प्रदेश कानुनबीच पर्याप्त सामञ्जस्य हुन नसक्दा सञ्चार क्षेत्रको व्यवस्थापनमा समस्या भइरहेको बताएका थिए। संघीय कानुन निर्माणमा भइरहेको ढिलाइले प्रदेशमा तयार भएका कानुनी तथा संस्थागत संरचनासँग समन्वय गर्न कठिनाइ भएको उनीहरूको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले छलफलबाट प्राप्त सुझावलाई आगामी आमसञ्चारसम्बन्धी कानुनी व्यवस्थामा आवश्यकताअनुसार समेटेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

Read More

गृहमन्त्री सुधन गुरुङ पहिलो विदेश भ्रमणमा भारत जाने

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ आगामी २६ असोजमा भारतको नयाँदिल्ली जाने भएका छन्। गृह मन्त्रालय तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ।

गुरुङले २७ असोजमा नयाँदिल्लीमा आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।

बैठकअघि बिमस्टेक सदस्य राष्ट्रका गृह सचिवहरूको बैठकसमेत आयोजना हुने नेपाली अधिकारीहरूले बताएका छन्। सन् १९९७ मा क्षेत्रीय संगठनका रूपमा स्थापना भएको बिमस्टेकको गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सदस्य राष्ट्रबीचका साझा सुरक्षा चासो र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकमा यसअघि गृह सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारस्तरका छलफलबाट सिफारिस गरिएका विषयलाई समेत गृहमन्त्रीहरूले अघि बढाउने तयारी छ।

भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले विभिन्न समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको नेपाली अधिकारीहरूले बताएका छन्। यस क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता हुने अपेक्षा गरिएको छ।

Read More

सेबोनको नयाँ व्यवस्थापछि दबाबमा सेयर बजार, नेप्से २० अंकले घट्यो

काठमाडौं। आधारभूत सेयरधनीले आफ्नो ५ प्रतिशत वा सोभन्दा बढी स्वामित्वको सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्थाको प्रभाव सेयर बजारमा देखिएको छ। पछिल्लो व्यवस्थाप्रति लगानीकर्तामा देखिएको निराशाका बीच बजारमा बिक्री चाप बढ्दा नेप्से लगातार ओरालो लागेको हो।

गत सातादेखि नै गिरावटमा रहेको बजारले यो साताको पहिलो कारोबार दिन सोमबार पनि नकारात्मक प्रदर्शन गर्‍यो। सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा सीमित भएको छ।

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। सोमबार २४२ कम्पनीको मूल्यमा गिरावट आउँदा ३२ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। यस्तै, सेन्सेटिभ इन्डेक्स ३.२३ अंक घटेर ४५९.७९ विन्दुमा पुगेको छ।

कारोबार भएका १३ उपसूचकमध्ये १२ वटा घटेका छन् भने एउटा मात्र उपसूचक वृद्धि भएको छ। परिसूचकसँगै बजारको कारोबार रकम पनि घटेर ३ अर्बको सीमित दायरामा खुम्चिएको छ।

सोमबार ३५९ कम्पनीका कुल ९० लाख ३ हजार ३८८ कित्ता सेयर ४४ हजार ७७७ पटक कारोबार भएका थिए। दिनभरको कारोबार रकम ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँ पुगेको छ।

Read More

झलनाथ खनालले घोषणा गरे ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट बाहिरिएका छन्। नेकपाका वरिष्ठ नेता समेत रहेका खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत खनालले अभियानको औपचारिक घोषणा गरेका छन्। उनकै नेतृत्वमा सम्पन्न अभियानको प्रथम भेलाले विभिन्न प्रस्तावसमेत पारित गरेको छ।

Read More

राष्ट्रिय पुनर्जागरणलाई कांग्रेसको आगामी कार्यदिशासँग जोड्दै गगन थापाको राजनीतिक प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ४६ पृष्ठ लामो प्रतिवेदन यसअघि नै पारित भइसकेको छ।

प्रतिवेदनमा थापाले आफ्नो चार वर्षे नेतृत्वको समीक्षा गर्दै आगामी कार्यदिशासहित नयाँ नेतृत्वले पूरा गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी स्पष्ट गर्नुपर्नेमा जोड दिएका छन्।

उनले आगामी दशकका लागि तय गरिने राष्ट्रिय आकांक्षालाई आगामी चार वर्षको नेतृत्वको जिम्मेवारीसँग जोड्ने आधारका रूपमा राजनीतिक प्रतिवेदन तयार गरिएको बताएका छन्।

प्रतिवेदनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई कांग्रेसको विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको आकांक्षाबीचको सेतुका रूपमा प्रस्तुत गरिएको छ।

थापाले राष्ट्रिय पुनर्जागरण भन्नाले पार्टी, राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्नुका साथै लोकतान्त्रिक सामर्थ्यलाई थप सुदृढ बनाउनु रहेको उल्लेख गरेका छन्।

Read More