काठमाडौं। आधारभूत सेयरधनीले आफ्नो ५ प्रतिशत वा सोभन्दा बढी स्वामित्वको सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्थाको प्रभाव सेयर बजारमा देखिएको छ। पछिल्लो व्यवस्थाप्रति लगानीकर्तामा देखिएको निराशाका बीच बजारमा बिक्री चाप बढ्दा नेप्से लगातार ओरालो लागेको हो।
गत सातादेखि नै गिरावटमा रहेको बजारले यो साताको पहिलो कारोबार दिन सोमबार पनि नकारात्मक प्रदर्शन गर्यो। सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा सीमित भएको छ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। सोमबार २४२ कम्पनीको मूल्यमा गिरावट आउँदा ३२ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। यस्तै, सेन्सेटिभ इन्डेक्स ३.२३ अंक घटेर ४५९.७९ विन्दुमा पुगेको छ।
कारोबार भएका १३ उपसूचकमध्ये १२ वटा घटेका छन् भने एउटा मात्र उपसूचक वृद्धि भएको छ। परिसूचकसँगै बजारको कारोबार रकम पनि घटेर ३ अर्बको सीमित दायरामा खुम्चिएको छ।
सोमबार ३५९ कम्पनीका कुल ९० लाख ३ हजार ३८८ कित्ता सेयर ४४ हजार ७७७ पटक कारोबार भएका थिए। दिनभरको कारोबार रकम ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँ पुगेको छ।




