२०८३ कार्तिक ८

नेपाल एयरलाइन्स सुधार्न तीन वर्षे रणनीतिक योजना आवश्यक : सांसद रेग्मी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई आर्थिक रूपमा सबल र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन तीन वर्षे रणनीतिक कार्ययोजना अघि बढाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले निगमको व्यवस्थापन सुधार, डिजिटल टिकट बिक्री प्रणाली र उडान रुटको व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

रेग्मीले निगमको वित्तीय अवस्था सुधारका लागि प्रभावकारी वित्तीय अडिट आवश्यक रहेको उल्लेख गर्दै कुन गन्तव्यमा नाफा र कुन रुटमा घाटा भइरहेको छ भन्ने स्पष्ट विश्लेषण गर्नुपर्ने बताए। उनका अनुसार कार्गो र ग्राउन्ड ह्यान्डलिङ सेवाको आम्दानी तथा खर्चलाई छुट्टाछुट्टै लेखा प्रणालीमार्फत व्यवस्थापन गर्नुपर्छ।

जहाजको समयमै मर्मत तथा ओभरहाल हुन नसक्दा उडान प्रभावित हुने गरेकोतर्फ पनि उनले ध्यानाकर्षण गराए। यस्तो समस्या समाधान गर्न निगमको व्यवस्थापकीय संरचना र कार्यप्रणालीमै सुधार आवश्यक रहेको उनको भनाइ छ।

निगमले प्रतिस्पर्धी दरमा हवाई सेवा उपलब्ध गराउन सके विदेशी एयरलाइन्सले अस्वाभाविक रूपमा भाडा बढाउने अवस्थालाई नियन्त्रण गर्न सहयोग पुग्ने रेग्मीले बताए। यसबाट नेपाल आउने पर्यटकको लागत घट्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्न सक्ने उनको भनाइ छ।

थप जहाज लिजमा ल्याउन नेपालले ‘केपटाउन कन्भेन्सन’मा तत्काल हस्ताक्षर गर्नुपर्नेमा उनले जोड दिए। उक्त सम्झौतामा सहभागी नभएसम्म अन्तर्राष्ट्रिय बजारबाट विमान लिजमा ल्याउन व्यावहारिक कठिनाइ रहने उनले बताए।

निगमलाई व्यावसायिक रूपमा सक्षम बनाउन स्पष्ट समयसीमा तोकेर तीन वर्षभित्र व्यवस्थापकीय र संरचनागत सुधारका काम अघि बढाउनुपर्ने सांसद रेग्मीको सुझाव छ। उनले मन्त्रालय र निगम नेतृत्वलाई मापनयोग्य लक्ष्य निर्धारण गरेर काम गर्न आग्रह गर्दै आवश्यक परे संसदीय समितिबाट सहजीकरण गर्ने बताए।