२०८३ कार्तिक ७

‘झिँगेदाउ–२’ को कमाइ डेढ करोड नजिक

काठमाडौं । प्रदर्शनको १७औँ दिनसम्म नेपाली फिल्म ‘झिँगेदाउ–२’ले १ करोड ४५ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार असोज २ गतेदेखि प्रदर्शनमा आएको फिल्मले १७ दिनमा १ करोड ४५ लाख ६० हजार ६१६ रुपैयाँ ग्रस कलेक्सन गरेको हो। यस अवधिमा ४७ हजार ९५८ टिकट बिक्री भएका छन्। पछिल्लो एक सातामा मात्रै फिल्मले करिब १० लाख रुपैयाँ कमाएको तथ्यांकमा देखिन्छ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ। जेठानी र देउरानीबीचको विवादबाट सुरु हुने पारिवारिक कलहलाई कथाको मुख्य आधार बनाइएको छ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ।

‘झिँगेदाउ–२’ सन् २०७९ मा प्रदर्शनमा आएको सफल फिल्म ‘झिँगेदाउ’को सिक्वेल हो। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्मित फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ।