२०८३ श्रावण १७

सरकारमाथि महरको आरोप: ‘चयनात्मक कारबाहीको संकेत देखियो’

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत गएको आरोप लगाएका छन्।

स्कुल अफ डेमोक्रेसीले काठमाडौँमा आयोजना गरेको ‘लोकतन्त्रमा विधिको शासन’ विषयक कार्यक्रममा बोल्दै महरले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक देखिएको टिप्पणी गरे।

उनले आयोगलाई निष्पक्ष अनुसन्धानका लागि नभई सरकारसँग असहमत हुने व्यक्ति र राजनीतिक शक्तिलाई लक्षित गर्ने माध्यम बनाउने प्रयास भइरहेको आशंका व्यक्त गरे। “राज्य संयन्त्र प्रतिशोध साँध्ने उपकरण बन्न थाल्यो भने त्यो विधिको शासन होइन, व्यक्तिको शासनतर्फको संकेत हो,” महरले भने।

महरले भ्रष्टाचार नियन्त्रणका नाममा हुने हरेक कारबाही निष्पक्ष र समान हुनुपर्ने उल्लेख गर्दै सम्पत्ति छानबिन सत्ता, प्रतिपक्ष, कर्मचारीतन्त्र र सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिमा समान रूपमा लागू हुनुपर्ने धारणा राखे।

उनले लोकतन्त्रमा कसैलाई जोगाउने र कसैलाई मात्रै निशाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने भन्दै राज्यका निर्णय राजनीतिक पूर्वाग्रहबाट प्रभावित भए जनविश्वास कमजोर बन्ने चेतावनी दिए।

महरले २०१७ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने माग आफूहरूले निरन्तर उठाउँदै आएको पनि बताए।