काठमाडौँ । अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा अनुभवी संविधानविद्को नेतृत्वमा छुट्टै सुझाव आयोग गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
प्रजातान्त्रिक विचार समाजले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले संविधान संशोधनलाई कुनै एक दलको इच्छाअनुसार अघि बढाउन नहुने बताएका हुन्।
उनले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक शक्ति, विज्ञ र सरोकारवालालाई समेटेर राष्ट्रिय बहस आवश्यक रहेको धारणा राखे। “संविधानले कुनै पार्टीको मात्रै अभिमत प्रतिनिधित्व गर्नु हुँदैन, व्यवहारमा देखिएका कमजोरीलाई आधार बनाएर सुधारको बहस हुनुपर्छ,” केसीले भने।
उनका अनुसार आयोगले संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या, अस्पष्टता र सुधार गर्नुपर्ने पक्षबारे सुझाव दिनेछ।
केसीले यस विषयमा आफूले नेपाली कांग्रेसका सभापति र महामन्त्रीलाई समेत सुझाव दिइसकेको जानकारी दिए।




