काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालनमा रहेका मसाज सेन्टर र स्पा व्यवसायहरूको अनुगमन गरेको छ।
वडा नम्बर २६ अन्तर्गतको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिले अनाहत नेपाल, नेपाल प्रहरी र महानगर प्रहरीको सहकार्यमा बुधबार संयुक्त अनुगमन गरेको हो। अनुगमनको मुख्य उद्देश्य ठमेल क्षेत्रमा हुन सक्ने बाल यौन शोषण तथा बालश्रमजन्य गतिविधि रोकथाम गर्नु रहेको बताइएको छ।
अनुगमनका क्रममा केही मसाज तथा स्पा सेन्टरहरू आचारसंहिता विपरीत सञ्चालन भएको तथा केही व्यवसायहरू आवश्यक दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएको समितिले जनाएको छ।
वडामा पछिल्लो समय होटल, लज, गेस्ट हाउस, खाजाघर, मसाज र स्पा जस्ता व्यवसायहरूमा विभिन्न बहानामा १८ वर्षमुनिका बालिकालाई श्रममा लगाउने वा यौन शोषणमा प्रयोग गर्ने गुनासो बढेपछि अनुगमनलाई तीव्र पारिएको समितिका संयोजक शान्ता प्रजापतिले बताए।
उनका अनुसार १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको जोखिमपूर्ण काम, श्रम वा यौन शोषणमा लगाउनु कानुनविपरीत हो र यस्तो गतिविधि भेटिएमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन र बालश्रम (निषेध र नियमित गर्ने) ऐनअनुसार कडा कारबाही गरिनेछ।
महानगरपालिकाले ठमेल क्षेत्रमा सञ्चालित मसाज तथा स्पा सेन्टरहरूको नियमित अनुगमन गर्ने जनाएको छ। साथै, व्यवसायहरूले कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र अनिवार्य राख्नुपर्ने र सबै व्यवसायिक स्थलमा ‘बालश्रम र यौन शोषण निषेध’ सम्बन्धी जानकारीमूलक बोर्ड राख्नुपर्ने निर्देशन दिइएको छ।
संयोजक प्रजापतिले आफ्नो वडा बालमैत्री र सुरक्षित बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै बालबालिकाको भविष्यसँग खेल्ने जोकोही पनि कानुनी कारबाहीको दायरामा आउने बताए।



