काठमाडौँ । सरकारले अत्यावश्यक सेवा सञ्चालनलाई निर्बाध बनाउन हडताल गर्न निषेध गरिएका २५ वटा क्षेत्रको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ।
सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उक्त सूचना जारी गरेको जनाएको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार डाँक, तार तथा टेलिफोन सेवा, जल, स्थल र हवाई यातायातमार्फत यात्रु तथा मालसामान ओसारपसार सेवा, सरकारी तथा सुरक्षा मुद्रण सेवा, सञ्चार सेवा, खानेपानी आपूर्ति, पेट्रोलियम पदार्थको उत्पादन, भण्डारण र वितरण, अस्पताल तथा स्वास्थ्य सेवा, औषधि उत्पादन तथा वितरण, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय सेवा, बीमा सेवा, विद्युत् उत्पादन तथा वितरण, दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा राहदानी सेवा लगायतका क्षेत्रमा हडताल गर्न निषेध गरिएको छ।
सरकारका अनुसार नागरिकको दैनिक जीवन, सूचना प्रवाह, सार्वजनिक सेवा प्रवाह तथा विपद् व्यवस्थापनसँग प्रत्यक्ष रूपमा सम्बन्धित सेवाहरूको नियमित सञ्चालन सुनिश्चित गर्न ती क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरिएको हो।
सरकारले सार्वजनिक हित र सेवा प्रवाहमा अवरोध नआओस् भन्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।







