२०८३ जेष्ठ २७

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बस्ने स्याङ्जा घर भएका ६३ वर्षीय हुम बहादुर कुँवर, सोही महानगरपालिका-३ बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय लोकेन्द्र बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने सुनसरी घर भएका ४९ वर्षीय तोरण कुमार कार्की, ललितपुर महानगरपालिका-१३ बस्ने रामेछाप घर भएका ३७ वर्षीय रबिन्द्र खत्री, काठमाडौं टोखा बस्ने गोरखा घर भएका ४२ वर्षीय निरज गुरूङ र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने पर्सा घर भएका ४७ वर्षीया रिन्कु कुमारी रौनियार रहेका छन् ।

पक्राउ मध्ये हुम बहादुरले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८८ लाख ७० हजार रूपैयाँ, लोकेन्द्रले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, तोरण कुमारले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, रबिन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, निरजले आइसल्यान्ड पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ११ लाख ५६ हजार रूपैयाँ र रिन्कु कुमारीले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हुम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोकेन्द्रलाई काठमाडौं महानगरपालिका-७ बाट र तोरण कुमारलाई काठमाडौं महानगरपालिका-४ बाट सोमबार, रबिन्द्रलाई ललितपुर पुल्चोकबाट र निरजलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार तथा रिन्कु कुमारीलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

Read More

एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको समीकरण पुरा, नेपालले थाइल्याण्डसँग खेल्ने

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

आज समुह चरणका सबै खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देश र क्वाटरफाइनलको समीकरण टुंगो लागेको हो । 

जस अनुसार समुह ए बाट थाइल्याण्ड र जापान, समुह बी बाटयुएई र ओमान, समुह सी बाट इन्डोनेसिया र मलेसिया र समुह डी बाट हङकङ र नेपाल क्वाटरफाइनलमा पुगेका छन् ।

अब क्वाटरफाइनलका खेलहरु बुधबार हुदैछन् ।  जसमा नेपालले थाइल्याण्डको सामना गर्ने भएको छ भने हङकङले जापानको सामना गर्ने भएको छ ।  यी दुवै खेल बिहान सवा ७ बजेदेखि शुरु हुने छन् । 

त्यस्तै युएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वाटरफाइनलमा खेल्ने तय भएको छ ।  यी दुवै खेल विहान ११: ४५ बजेदेखि शुरु हुने छन् ।        

१८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् । 

Read More

तनहुँमा भारतीय कार दुर्घटना, तीन जना घाइते

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

मंगलबार दिउँसो डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बिआर १० एबि ७७३९ नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सवार पाँच जनामध्ये तीन जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ । घाइते हुनेहरूमा भारतको बिहार राज्य मधुबनी निवासी ३७ वर्षीया आशा देवी, सोही स्थानकी ४० वर्षीया मनिका देवी तथा कार चालक बिहारको भागलपुर निवासी २८ वर्षीय सोनु रहेका छन् ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

पूर्वी कङ्गोमा इबोला प्रकोप तीव्र, मृतक संख्या १०० नाघ्यो

काठमाडौँ । पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम अवधिमै मृतक संख्या १०० नाघेको छ। स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सङ्क्रमण तीव्र रूपमा फैलिरहेको देखिएको छ भने वास्तविक प्रभावितको संख्या अझै बढी हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये १०१ जनाको मृत्यु भएको छ भने १९ जना उपचारपछि निको भएका छन्। यो तथ्याङ्क सोमबार सार्वजनिक गरिएको पछिल्लो अवस्था प्रतिवेदनमा उल्लेख गरिएको हो।

अधिकारीहरूका अनुसार रोग फैलिन थालेको केही सातापछि मात्रै प्रकोपको औपचारिक पुष्टि भएकाले नियन्त्रण तथा रोकथामका प्रयासमा थप जटिलता उत्पन्न भएको छ। प्रारम्भिक चरणमै प्रभावकारी निगरानी र हस्तक्षेप हुन नसक्दा सङ्क्रमण विस्तार हुन पुगेको बताइएको छ।

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूले स्थानीय बासिन्दाबाट विरोध र आक्रोशपूर्ण प्रतिक्रिया सामना गर्नुपरेको छ। साथै स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना र विभिन्न सशस्त्र समूहको सक्रियताले नियन्त्रण अभियानलाई गम्भीर चुनौती दिएको अधिकारीहरूको भनाइ छ। जनविश्वासको कमीका कारण परीक्षण, उपचार तथा सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) सम्बन्धी कार्यसमेत प्रभावित बनेको छ।

स्वास्थ्य विज्ञहरूले आधिकारिक तथ्याङ्कले वास्तविक अवस्थाको पूर्ण चित्रण नगर्न सक्ने चेतावनी दिएका छन्। दुर्गम क्षेत्र, कमजोर स्वास्थ्य पहुँच र असुरक्षित सुरक्षा अवस्थाका कारण धेरै सङ्क्रमित व्यक्ति पहिचानबाहिर रहेको आशङ्का गरिएको छ। यसले महामारी थप फैलिने जोखिम बढाएको विज्ञहरूको भनाइ छ।

यसपटकको प्रकोप दुर्लभ ‘बुन्डिबुग्यो’ प्रकारको इबोला भाइरसका कारण फैलिएको हो। यो प्रकार कङ्गोमा विगतमा बढी देखिने ‘जाइर’ प्रकारभन्दा फरक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। जाइर प्रकारका लागि खोप तथा उपचार उपलब्ध भए पनि बुन्डिबुग्यो प्रकारविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार विकसित भइसकेको छैन।

विश्लेषकहरूका अनुसार लामो समयदेखि जारी सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य पूर्वाधार र सरकारी निकायप्रतिको सीमित जनविश्वासका कारण कङ्गोमा इबोला नियन्त्रण अभियान बारम्बार चुनौतीपूर्ण बन्दै आएको छ। वर्तमान प्रकोपमा पनि यिनै कारणहरूले नियन्त्रण प्रयासलाई गम्भीर रूपमा प्रभावित गरिरहेको देखिएको छ।

Read More

अत्यावश्यक सेवामा हडताल निषेध, सरकारले २५ क्षेत्रको सूची राजपत्रमा प्रकाशित

काठमाडौँ । सरकारले अत्यावश्यक सेवा सञ्चालनलाई निर्बाध बनाउन हडताल गर्न निषेध गरिएका २५ वटा क्षेत्रको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ।

सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उक्त सूचना जारी गरेको जनाएको छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार डाँक, तार तथा टेलिफोन सेवा, जल, स्थल र हवाई यातायातमार्फत यात्रु तथा मालसामान ओसारपसार सेवा, सरकारी तथा सुरक्षा मुद्रण सेवा, सञ्चार सेवा, खानेपानी आपूर्ति, पेट्रोलियम पदार्थको उत्पादन, भण्डारण र वितरण, अस्पताल तथा स्वास्थ्य सेवा, औषधि उत्पादन तथा वितरण, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय सेवा, बीमा सेवा, विद्युत् उत्पादन तथा वितरण, दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा राहदानी सेवा लगायतका क्षेत्रमा हडताल गर्न निषेध गरिएको छ।

सरकारका अनुसार नागरिकको दैनिक जीवन, सूचना प्रवाह, सार्वजनिक सेवा प्रवाह तथा विपद् व्यवस्थापनसँग प्रत्यक्ष रूपमा सम्बन्धित सेवाहरूको नियमित सञ्चालन सुनिश्चित गर्न ती क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरिएको हो।

सरकारले सार्वजनिक हित र सेवा प्रवाहमा अवरोध नआओस् भन्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।

Read More

नेप्सेमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३. ५९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५७ कम्पनिका एक करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६ अर्ब ४४ करोड ३१  लाख ९० हजार २९१ मा कारोबार भएको थियो । 

आज होटल्स, हाइड्रो, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सोपा फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी क्रेस्ट माइक्रो लाइफको शेयर ९.१६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी कृषि विकास बैंकको बन्डको ५७ करोड बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

Read More

महोत्तरीबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका-३ मालिवारा बजारबाट स्रोत नखुलेको १ लाख १७ हजार ६ सय ५० नेपाली रूपैयाँ र १ लाख ११ हजार ३ सय ५० भारतीय रूपैयाँ सहित सोही नगरपालिका-६ बासोपट्टी बस्ने ५५ वर्षीय अरूण कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वरतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

राष्ट्रिय सभामा आज पनि अवरोध, बैठक स्थगित

काठमाडौं । विपक्षी दलका सांसदहरुको विरोधका कारण राष्ट्रियसभा बैठक आजपनि स्थगित भएको छ । 

मंगलबार बैठक सुरु हुनासाथ सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक स्थगित भएको हो ।

राष्ट्रिय सभाको बैठक अवरूद्ध भएपछि अध्यक्ष नारायाण प्रसाद दाहालले सरकार र सांसदहरुले बैठक सुचारु गर्नुपर्ने धारणा राख्दै संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने विचार राखेका थिए ।

त्यसपछि पनि बैठक लगातार अवरुद्ध भएपछि अध्यक्ष दाहालले बैठक जेठ २८ गतेसम्मका लागि स्थगित गरेका छन् ।

Read More

रास्वपाको मधेश प्रदेश अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश अधिवेशन स्थगित भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै जेठ २८ गतेका लागि तय भएको प्रदेश अधिवेशन स्थगित गरेको हो । 

केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले अर्को निर्णय नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया स्थगन भएको उल्लेख गरेका छन् । 

पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४९ बमोजिम आयोगलाई प्राप्त अधिकार प्रयोग गरी उक्त निर्णय गरिएको उल्लेख गरिएको छ । मधेस प्रदेशको अधिवेशन निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्नका लागि अधिवेशन स्थगित गरिएको बताइएको छ । 

अधिवेशनलाई लिएर पर्सा र सिरहामा कार्यकर्ताहरुबीच झडप भएको थियो भने विवादकाबीच पर्साको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भए पनि सिरहाको हुन सकेको छैन । त्यस्तै बारा जिल्लाको अधिवेशन पनि स्थगित गरिएको छ । 

Read More

रोशी खोलामा जलस्तर बढेपछि बीपी राजमार्गमा सवारी आवागमन बन्द

काठमाडौं । निरन्तर वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मंगलबार मध्याह्नदेखि बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध तथा रोशी नदीको माथिल्लो जलाधार क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ।

माथिल्लो क्षेत्रमा परेको वर्षाका कारण रोशी खोलाको जलस्तर निरन्तर बढ्दै गएको र बाढीको जोखिम समेत उच्च बनेको प्रहरीले जनाएको छ। यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै बीपी राजमार्गअन्तर्गत काभ्रे खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि रोकिएको हो।

प्रहरीका अनुसार राजमार्ग प्रयोग गर्ने सवारीसाधनलाई काभ्रेको धुलिखेल क्षेत्रमा तथा सिन्धुली प्रहरीसँगको समन्वयमा खुर्कोट र नेपालथोकमा रोकिएको छ।

प्रहरीले सर्वसाधारण तथा यात्रुहरूलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Read More