२०८३ असार ५

महत्त्वपूर्ण बजेट बहसमा प्रधानमन्त्री बालेन अनुपस्थित, जिम्मा अर्थमन्त्रीलाई

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाह स्वयं उपस्थित नभई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।

संसद्को कार्यसूचीअनुसार प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था रहे पनि यसपटक अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको तर्फबाट जवाफ प्रस्तुत गर्नेछन्।

रक्षा मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयअन्तर्गतका बजेट शीर्षकमाथि भएको छलफलका विषयमा पनि प्रधानमन्त्रीको प्रत्यक्ष जवाफ अपेक्षित थियो। तर प्रधानमन्त्री संसद्मा उपस्थित नहुने भएपछि ती सबै मन्त्रालय तथा निकायसँग सम्बन्धित प्रश्नहरूको उत्तर अर्थमन्त्री वाग्लेले दिने तयारी गरिएको छ।

यससँगै बजेटमाथिको महत्वपूर्ण छलफलमा प्रधानमन्त्रीको अनुपस्थितिले राजनीतिक वृत्तमा चासो बढाएको छ भने संसद्मा सरकारको धारणा प्रस्तुत गर्ने जिम्मेवारी अर्थमन्त्रीको काँधमा आएको छ।