काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई डर र दबाबको माध्यम नभई सहजीकरण र विश्वासमा आधारित बनाउन निर्देशन दिएका छन्। आन्तरिक राजस्व विभाग लाजिम्पाटमा बिहीबार कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले करदातालाई त्रसित बनाएर होइन, सेवा र सहकार्यबाट कर संकलन प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
उनले कर तिर्नु बोझ नभई राज्यप्रतिको जिम्मेवारी हो भन्ने भावना करदातामा विकास हुने गरी काम गर्नुपर्ने बताए। करको दायरा विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले कर प्रशासनमा सुधार भएको अनुभूति आम नागरिकले पाउनुपर्नेमा जोड दिए।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि तय गरिएको १६ खर्ब रुपैयाँको राजस्व लक्ष्य पूरा गर्न करदातालाई सहज सेवा उपलब्ध गराउनुपर्ने बताए। बजेटमा दिइएका कर छुटको प्रभावकारी कार्यान्वयन, करदाता सचेतना वृद्धि र कारोबारलाई डिजिटल प्रणालीमा लैजान विभागीय नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
उनले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने उल्लेख गर्दै कर प्रशासन सुधारका लागि जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिमा समस्या भए तत्काल जानकारी गराउन आग्रह गरे। कर्मचारीको वृत्ति विकास कार्यसम्पादनका आधारमा हुने भन्दै उनले सरुवा वा अवसरका लागि दबाब र पहुँच प्रयोग नगर्न पनि सुझाव दिए।
कार्यक्रममा अर्थमन्त्री वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग तथा मातहतका कार्यालयका कर्मचारीलाई राजस्व लक्ष्य हासिल गर्न प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए। विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको संरचना, राजस्व लक्ष्य र तयारीबारे प्रस्तुति दिएका थिए।
नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न कर प्रशासन सुधारमा जोड
अर्थमन्त्री वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले आवश्यक पहल गरिरहेको बताएका छन्।
कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अवस्था सुधार गर्न सक्ने उनको भनाइ थियो। उनले कर प्रशासनबाटै सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिलाई गम्भीर रूपमा निगरानी गर्नुपर्नेमा जोड दिए।
उनले नयाँ बजेटले सरकारले अघि बढाउन खोजेको आर्थिक दिशाको आधार प्रस्तुत गरेको उल्लेख गर्दै आगामी वर्षहरूमा अर्थतन्त्रलाई थप व्यवस्थित र सक्षम बनाउने लक्ष्य रहेको बताए।




