२०८३ श्रावण २७

साउदीमा ९११ नेपाली जेलमा, ९१.६ प्रतिशत लागूऔषध मुद्दामा

काठमाडौं साउदी अरबमा रोजगारीका लागि पुगेका ९११ नेपाली विभिन्न मुद्दामा जेलमा रहेको नेपाली दूतावास रियादको तथ्यांकले देखाएको छ। ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा विचाराधीन छ।

जेलमा रहेका नेपालीमध्ये पूर्वी क्षेत्रमा ३७७, केन्द्रीय क्षेत्रमा ३३४ र अन्य क्षेत्रमा २०० जना छन्। तीमध्ये ८३५ जना अर्थात् ९१.६ प्रतिशत लागूऔषधसम्बन्धी मुद्दामा जेलमा रहेको तथ्यांकमा उल्लेख छ।

साउदीमा लागूऔषध र मदिरासम्बन्धी अपराधलाई गम्भीर रूपमा लिइने भएकाले नेपाली कामदारलाई स्थानीय कानुनको पूर्ण पालना गर्न दूतावासले आग्रह गरेको छ। कार्यवाहक राजदूत सिर्जना अधिकारीले अपरिचित व्यक्तिको सामान वा पार्सल नबोक्न तथा मदिरा, लागूऔषधलगायत प्रतिबन्धित वस्तुसँग सम्बन्धित गतिविधिबाट टाढा रहन आग्रह गरेकी छन्।

श्रम काउन्सिलर कबिराज उप्रेतीले बढी कमाइको लोभ वा अरूको आग्रहमा गैरकानुनी काममा संलग्न हुँदा गम्भीर कानुनी परिणाम भोग्नुपर्ने भन्दै साउदीको कानुनबारे जानकारी राखेर काम गर्न नेपालीलाई सुझाव दिएका छन्।