काठमाडौँ । विद्यालयमा भएको घातक गोलीकाण्डपछि थाइल्यान्ड सरकारले बन्दुक नियन्त्रणसम्बन्धी कानुन तथा व्यवस्थालाई थप कडा बनाउने निर्णय गरेको छ। सरकारले नयाँ बन्दुक खरिदका लागि अनुमति पत्र जारी गर्न अस्थायी रूपमा रोक लगाउने तथा यसअघि दर्ता भएका आवेदनको पुनः समीक्षा गर्ने भएको छ।
गत शुक्रबार भएको घटनामा १४ वर्षीय किशोरले आफ्नै परिवारका दुई सदस्यको हत्या गरेपछि विद्यालयमा गोली चलाउँदा थप ६ जनाको ज्यान गएको थियो। घटनापछि ती किशोरले आफूमाथि गोली प्रहार गरी ज्यान गुमाएका थिए।
सन् २०२२ यता थाइल्यान्डमा भएको यो सबैभन्दा घातक सामूहिक गोलीकाण्ड भएको बताइएको छ। घटनापछि प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले मङ्गलबार सम्बन्धित सरकारी निकायलाई देशभर बन्दुक नियन्त्रणका उपाय तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
सरकारले सार्वजनिक अधिकारी, कर्मचारी तथा राजनीतिज्ञलाई सहुलियत मूल्यमा बन्दुक खरिद गर्न दिने ‘वेलफेयर गन’ कार्यक्रम पनि अस्थायी रूपमा स्थगित गर्ने जनाएको छ।
यसैगरी, देशभर सञ्चालनमा रहेका बन्दुक पसलको निरीक्षण गरी बिक्रीसम्बन्धी अभिलेख जाँच गरिने भएको छ। सुटिङ रेन्जहरूमा गोलीगठ्ठासम्बन्धी नियमको पालना भए–नभएको समेत निरीक्षण गरिने सरकारले जनाएको छ।
सरकारले अवैध बन्दुक नियन्त्रण अभियानलाई तीव्र बनाउने, कानुन उल्लङ्घन गर्नेमाथि कडा कारबाही गर्ने तथा गम्भीर अपराधमा अधिकतम कानुनी सजाय सुनिश्चित गर्न पहल गर्ने योजना अघि सारेको छ।
दीर्घकालीन सुधारको तयारी
थाइल्यान्ड सरकारले दीर्घकालीन रूपमा बन्दुकसम्बन्धी अपराधमा सजाय बढाउने, बन्दुक पसल तथा सुटिङ रेन्जमा गोलीगठ्ठाको बिक्री र व्यवस्थापनसम्बन्धी निगरानी कडा बनाउने तथा बन्दुकको अनुमति पत्र निश्चित अवधिमा अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ।
सरकारका अनुसार यी कदमको उद्देश्य अवैध बन्दुकको प्रयोग नियन्त्रण गर्नु, बन्दुकसम्बन्धी नियमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु तथा सार्वजनिक सुरक्षालाई थप मजबुत बनाउनु हो।
घटनामा ज्यान गुमाएका ६ जनाका परिवारलाई प्रारम्भिक राहतस्वरूप जनही १० लाख थाइ भाट, अर्थात् करिब ३० हजार अमेरिकी डलर, उपलब्ध गराउने निर्णय गरिएको सरकारी वक्तव्यमा उल्लेख छ।




