२०८३ आश्विन १

भोटेकोशी बाढीमा १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति पुगेको छ। महासङ्घका अनुसार बाढीमा ती सवारीसाधनका चालक, सहचालक र यात्रुसहित ३४४ जना बेपत्ता भएका छन्।

महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीबाट नौवटा यातायात कम्पनीका बस, ट्रक, कन्टेनर, टिपर, जीप, माइक्रोबसलगायत सवारीसाधन प्रभावित भएका छन्।

नेपाल अरनिको यातायात सेवाका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुग्दा ५० जना बेपत्ता भएका छन्। नमस्ते पासाङ ल्हामु यातायातका १९ बस प्रभावित हुँदा २१ जना बेपत्ता भएका छन्।

हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुग्दा १० चालक बेपत्ता छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुगेको छ भने ४५ चालक बेपत्ता रहेको महासङ्घले जनाएको छ।

नारायणी यातायात व्यवसायी कम्पनीका ५९ ट्रक तथा कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन्। पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति हुँदा चालकसहित २२ यात्रु बेपत्ता छन्।

धादिङ मण्डली यातायातको एक बसमा क्षति पुग्दा चालक र २५ तीर्थयात्री बेपत्ता भएको महासङ्घले जनाएको छ। भक्तपुर न्यू भिजन यातायातका दुई कन्टेनरमा क्षति पुग्दा दुई चालक बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा क्षति पुगेको छ।