२०८३ आश्विन ६

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिका बैठक बस्ने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ।

कृषि तथा प्राकृतिक स्रोत समिति

बिहान ९ बजे बस्ने बैठकमा कृषि मन्त्री, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक लगायतका अधिकारी सहभागी हुनेछन्। बैठकमा नार्कअन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या र चुनौतीबारे समीक्षा गरिनेछ। साथै अनुगमनबाट प्राप्त निष्कर्ष तथा कृषि अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउने उपायमाथि छलफल हुनेछ।

पूर्वाधार विकास समिति

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोका कारण जनजीवन र पूर्वाधारमा पुगेको क्षतिको अवस्थाबारे छलफल हुनेछ। प्रभावित क्षेत्रमा पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आवश्यक योजना र लगानी व्यवस्थापनका विषय पनि बैठकको कार्यसूचीमा छन्।

कानुन, न्याय तथा मानव अधिकार समिति

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापनको अवस्था, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्यायसँग सम्बन्धित विषयमा छलफल गरिनेछ। बैठकमा अन्य समसामयिक विषयसमेत उठाइने जनाइएको छ।