काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा उद्धार गर्न सरकारले सञ्चालन गरेको कोषमा सहयोग रकम बढ्दै गएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
सरकारका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट यसअघि नै एक अर्ब रुपैयाँ निकासा भइसकेको छ।
कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये विभिन्न नौवटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा रहेको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ।
सरकारले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोषमा प्राप्त रकम परिचालन गरिने जनाएको छ।
राहत कोषमा सहयोग रकम थपिँदै गएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाउने सरकारी प्रयाससमेत तीव्र पारिएको छ।




