२०८३ आश्विन ५

रसुवा बाढीमा सम्पर्कविहीन जीवित भेटिने सम्भावना कम

काठमाडौँ । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने सम्भावना कम रहेको बताएका छन्। यद्यपि सम्भावना रहेसम्म खोज तथा उद्धार कार्य जारी राखिने उनले स्पष्ट पारे।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा शर्माले विशेषगरी जलविद्युत आयोजनाका सुरुङमा रहेका हुन सक्ने व्यक्तिहरूको खोजीलाई प्राथमिकता दिइएको बताए।

घटनास्थलको कठिन भौगोलिक अवस्था, आवश्यक प्रविधिको अभाव र विषम परिस्थितिका कारण उद्धारमा ढिलाइ भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल चुनौतीपूर्ण रहेको बताएका उनले जानकारी दिए।

अन्तर्राष्ट्रिय अभ्यासमा २१ दिनपछि पनि जीवित उद्धार भएका उदाहरण रहेको उल्लेख गर्दै शर्माले सम्भावना रहेसम्म खोजी कार्य नरोकिने बताए।

उनका अनुसार खोज तथा उद्धारपछि राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाइनेछ। बाढी प्रभावित क्षेत्रमा महिला तथा बालबालिकाको संरक्षणका लागि स्थानीय तहसँग समन्वय भइरहेको र होल्डिङ सेन्टरमा बालबालिकाको व्यवस्थापन भइरहेको उनले जानकारी दिए।