२०८३ आश्विन १६

हुरीको प्रहारले सिन्धुलीको व्यावसायिक केराखेती तहसनहस

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका-१ बङ्कामा आएको शक्तिशाली हुरीले व्यावसायिक केराखेतीमा ठूलो क्षति पुर्‍याएको छ। सोमबार पानीसँगै आएको तीव्र हुरीका कारण किसानहरूको मेहनतमा गम्भीर असर परेको हो।

स्थानीय किसान रामकुमार घिमिरेका अनुसार करिब सात बिघा क्षेत्रफलमा गरिएको केराखेतीमध्ये तीन बिघा पूर्ण रूपमा नष्ट भएको छ भने बाँकी क्षेत्रमा आंशिक क्षति पुगेको छ। उनले चार वर्षअघि अन्य साझेदारहरूसँग मिलेर व्यावसायिक रूपमा केरा खेती सुरु गरेका थिए।

जयप्रसाद पडाडी, युवराज पहाडी र घिमिरेले संयुक्त रूपमा सञ्चालन गरेको फार्ममा भएको क्षतिको प्रारम्भिक अनुमान करिब १३ लाख रुपैयाँ बराबर रहेको बताइएको छ। गत वर्ष मात्रै यस फार्मबाट ४३ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको थियो, जसले यस खेतीको सम्भावना देखाएको थियो।

कृषि विकास कार्यालय, सिन्धुलीका अनुसार जिल्लाभर करिब ३६४ हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ। तर पछिल्लो हुरीले धेरै स्थानमा आंशिक क्षति पुर्‍याएको किसानहरूको भनाइ छ।

प्राकृतिक विपत्तिका कारण लगानी र उत्पादन दुवैमा असर पर्दा किसानहरू थप चिन्तित बनेका छन्।