२०८३ आश्विन १५

गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

काठमाडौँ । बाढीबाट क्षतिग्रस्त रसुवा जोड्ने गल्छी–बेत्रावती सडकखण्डमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै उक्त मार्गमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

सडकमा यातायात सञ्चालन भए पनि ग्रेड मिलाउने र ग्राभेल बिछ्याउने काम बाँकी रहेको मन्त्रालयले जनाएको छ। निर्माण कार्य प्रभावित नहोस् भन्दै सडक मर्मतका क्रममा अनावश्यक सवारी चाप कम गर्न पनि आग्रह गरिएको छ।

यसैबीच, सडकखण्डमा बेलिब्रिज निर्माणको काम अघि बढाइएको छ। नुवाकोटतर्फ पुलको फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा जडानको तयारी भइरहेको छ। रसुवातर्फको फाउन्डेसन निर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ।

आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र पारिएको मन्त्री लम्सालले बताएका छन्। बाढीपछि अवरुद्धजस्तै बनेको सडकमा ट्रयाक खुलेपछि यातायात सहज हुने र बेलिब्रिज जडानपछि आवागमन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।