२०८३ आश्विन १५

सिरहामा १ हजार १०२ किलोभन्दा बढी गाँजा बरामद

काठमाडौं । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलाको पुलमा बुधबार राति गरिएको चेकजाँचका क्रममा २६ बोरा गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बरामद गाँजाको कुल तौल १ हजार १०२ किलो ६ सय ५५ ग्राम रहेको छ । बा १४ च २९४ नम्बरको फुलबडी बोलेरो र स ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकलमा गाँजा ओसारपसार भइरहेको अवस्थामा फेला परेको हो ।

चेकजाँचपछि सवारीसाधन छाडेर फरार

विशेष सूचनाका आधारमा नं. ७ गण हेडक्वार्टर सिरहाबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले राति करिब १२ः३६ बजे चेकजाँच गरेको थियो । सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट परिचालित टोलीसहित २९ जना सशस्त्र प्रहरी उक्त कारबाहीमा संलग्न थिए ।

सशस्त्र प्रहरीको मोबाइल टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारीसाधन र गाँजा छाडेर फरार भएको जनाइएको छ ।

बरामद गाँजा, बोलेरो र मोटरसाइकल नियन्त्रणमा लिएर नं. ७ गण हेडक्वार्टर सिरहामा ल्याइएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा थप कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।