काठमाडौँ । स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष कुल बरफको ५.५ प्रतिशत गुमाएका छन्। अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेको वैज्ञानिकहरूले बताएका छन्।
ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै स्विस हिमनदीको करिब एक-पाँचौँ बरफ हराइसकेको छ। यस वर्षको क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट हो।
हिमविज्ञानका प्राध्यापक म्याथियास हसका अनुसार तापक्रम वृद्धिसँगै अल्पाइन हिमनदीको भविष्य जोखिममा परेको छ। विशेषगरी जाडोमा पर्याप्त हिउँ नपर्नु चिन्ताजनक रहेको उनको भनाइ छ, किनकि हिमपातले पुरानो बरफलाई पग्लनबाट जोगाउँछ।
जुलाईदेखि सेप्टेम्बरसम्म मात्रै करिब २२ खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान गरिएको छ। कतिपय हिमनदीको मोटाइ चार मिटरसम्म घटेको छ भने केही क्षेत्रमा १० मिटरसम्मको कमी देखिएको छ।
हिमनदीमा आएको परिवर्तनले स्विट्जरल्यान्डको पानीको स्रोत र जलविद्युत् उत्पादनमा समेत असर पार्न सक्ने विज्ञहरूले बताएका छन्। स्विट्जरल्यान्डका हिमक्षेत्र युरोपका प्रमुख नदी प्रणालीका लागि महत्वपूर्ण जलस्रोत मानिन्छन्।




