काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ मा रहेको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका थप आठ आरोहीको शव आज फेला परेको छ। यससँगै असोज ११ गतेको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान चार तथा दिउँसो थप चार जनाको शव भेटिएको हो। यसअघि घटनामा सात जनाको मृत्यु भएको पुष्टि भइसकेको थियो। हिमपहिरोमा परेका एक जना भने अझै बेपत्ता छन्।
उद्धार गरिएका शवमध्ये दुई वटा सदरमुकाम चामे ल्याइएको छ भने थप छ शव फूगाउँसम्म ल्याइएको पौडेलले बताए। रात परिसकेकाले शुक्रबार मात्रै बाँकी शव चामे ल्याउने तयारी छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत आज शवहरू स्थानान्तरण गरिएको हो। हिमपहिरोपछि उद्धार तथा खोजीका लागि नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) ले ११ सदस्यीय दक्ष टोलीसमेत परिचालन गरेको छ।
यसैबीच नेपाली सेनाको टोलीले स्थानीय र अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ को ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने काम गरिरहेको छ। अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा ल्याउने प्रयास पनि जारी रहेको जनाइएको छ।
असोज ११ गते बिहान हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरो गएको थियो। त्यसपछि बेपत्ता आरोहीको खोजी तथा उद्धार अभियान सञ्चालन हुँदै आएको छ।



