२०८३ आश्विन १६

सुनचाँदीको मूल्यमा फेरि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको छ।

यसअघि सोमबार र मंगलबार लगातार दुई दिनमा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको थियो। त्यसपछि बुधबार २ हजार ८ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार भने २ लाख ९३ हजार ३ सय रुपैयाँमै स्थिर रहेको थियो।

यता, चाँदीको मूल्य पनि आज प्रतितोला २५ रुपैयाँले उकालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँ पुगेको हो। बिहीबार यसको मूल्य ४ हजार ४ सय २५ रुपैयाँ थियो।

यसअघि गएको माघ १५ गते सुनको मूल्यमा एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँको वृद्धि भएको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

चाँदीतर्फ भने गएको माघ १८ गते प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँको गिरावट आएको थियो। यो हालसम्मकै ठूलो गिरावटका रूपमा रहेको छ।

यसअघि माघ १५ गते चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँसम्म पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो।

Read More

पाइलटमाथि आक्रमणमा इरान जोडिए कडा परिणाम भोग्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरानको संलग्नता पुष्टि भए कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै इरान जिम्मेवार पाइएमा ‘धेरै कडा’ कारबाही हुने बताएका हुन्।

घटनाका क्रममा सह–पाइलटले भारतीय क्याप्टेन स्मिट मच्छरमाथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रणका लागि संघर्ष भएको थियो। यात्रुहरूको सहयोगमा सह–पाइलटलाई नियन्त्रणमा लिएपछि विमान साउदी अरेबियामा आपत्कालीन अवतरण गरिएको थियो। प्रारम्भिक अनुसन्धानले आक्रमण सह–पाइलटकै तर्फबाट भएको देखाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सह–पाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित रहेको आरोप लगाएका छन्। युएईका अधिकारीहरूले भने घटनामा आतंकवादी गतिविधि वा त्यस्तो उद्देश्य भए–नभएको अनुसन्धान भइरहेको बताएका छन्। घाइते क्याप्टेन मच्छरको अवस्था राम्रो रहेको भारतीय दूतावासले जनाएको छ।

घटनापछि फ्लाईदुबईले इजरायलका लागि उडान स्थगित गरेको छ। यसैबीच, मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति बढिरहेका बेला साउदी अरेबिया र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र प्रणाली तैनाथ गरिएको र यूएसएस थियोडोर रुजवेल्टसहितको युद्धपोत समूह उक्त क्षेत्रमा अघि बढिरहेको ‘एक्सियोस’ले जनाएको छ।

Read More

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ पदाधिकारी तथा कर्मचारीको विवरण सार्वजनिक

काठमाडौं। प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सल्लाहकार समूह, स्वकीय सचिवालय तथा विभिन्न तहमा कार्यरत पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले लामो समयपछि आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रधानमन्त्रीको टोलीमा रहेका २५ जना पदाधिकारी तथा कर्मचारीको जिम्मेवारी सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणमा प्रधानमन्त्रीका राजनीतिक, स्वास्थ्य, नीति, प्रशासन तथा सूचना प्रविधिसम्बन्धी सल्लाहकारदेखि विभिन्न प्रशासनिक, अनुसन्धान र प्राविधिक जिम्मेवारीमा रहेका कर्मचारीसम्मलाई समेटिएको छ। केही पदाधिकारीलाई मन्त्री तथा राज्यमन्त्रीसरहको हैसियत र सुविधा प्रदान गरिएको विवरणमा उल्लेख छ।

प्रधानमन्त्रीका सल्लाहकार तथा उच्च तहका पदाधिकारी

नामजिम्मेवारी तथा हैसियत
कुमार ब्यञ्जनकारअवैतनिक मुख्य राजनीतिक सल्लाहकार, मन्त्रीसरह
असिम शाहराजनीतिक सल्लाहकार, मन्त्रीसरह
प्राडा जगदिश प्रसाद अग्रवालअवैतनिक स्वास्थ्य सल्लाहकार, मन्त्रीसरह
सुदिप ढकालनीति, प्रशासन तथा सुशासन सल्लाहकार, राज्यमन्त्रीसरह
विवेक मिश्रसूचना तथा सञ्चार प्रविधि सल्लाहकार, राज्यमन्त्रीसरह

प्रधानमन्त्रीको सचिवालयतर्फ सुवाष शर्मा प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत छन्। उनको पद रा.प. विशिष्टसरह रहेको छ। त्यस्तै नविन भण्डारी स्वकीय सचिवका रूपमा रहेका छन्, जसको पद रा.प. प्रथमसरह रहेको छ।

सहसचिव तथा सोसरहका जिम्मेवारी

नामजिम्मेवारी तथा हैसियत
सञ्जिव पाण्डेविकास परियोजना, सहसचिव (रा.प. प्रथम) सरह
दिपा दाहालप्रेस तथा अनुसन्धान विज्ञ, सहसचिव (रा.प. प्रथम) सरह
सन्तोष गिरीकार्यक्रम तथा भ्रमण संयोजक, सहसचिव (रा.प. प्रथम) सरह
विश्व राईविज्ञ–सामाजिक विकास, सहसचिव (रा.प. प्रथम) सरह

यसैगरी उपसचिव तथा सहायक विज्ञका रूपमा पनि विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकिएको छ।

नामजिम्मेवारी तथा हैसियत
प्रकृति ढकालउपसचिव (रा.प. द्वितीय) सरह
विशाल अधिकारीउपसचिव (रा.प. द्वितीय) सरह
विनय शाक्यउपसचिव (रा.प. द्वितीय) सरह
सुमन गौतमसहायक विज्ञ, नागरिक उड्डयन
रवि किरण अधिकारीसहायक विज्ञ, भाषा तथा मस्यौदा

शाखा अधिकृत तथा प्राविधिक–प्रशासनिक तहका कर्मचारी

प्रधानमन्त्रीको सचिवालयमा शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा समेत विभिन्न कर्मचारी कार्यरत रहेको विवरणमा उल्लेख छ।

नामजिम्मेवारी
सुरेन्द्र बजगाईप्रेस सहजकर्ता
रोशन तामाङ्गग्राफिक्स डिजाइन
बेदानन्द जोशीकर्मचारी
हेम नारायणदास चौधरीअनुसन्धान अधिकृत
अनुप थापा मगरकर्मचारी
ऋषी थापाकर्मचारी
अमृत पाण्डेभिडियोग्राफर
राज कुमार गौतमकर्मचारी
बेनिस कार्कीकर्मचारी

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सचिवालयमा राजनीतिक तथा स्वास्थ्य सल्लाहकार, नीति तथा प्रशासन विज्ञ, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका सल्लाहकारसँगै विकास परियोजना, अनुसन्धान, सामाजिक विकास, नागरिक उड्डयन, भाषा तथा मस्यौदा, ग्राफिक्स र भिडियो उत्पादनलगायत विभिन्न क्षेत्रमा जिम्मेवारी तोकिएका छन्।

Read More

काठमाडौं महानगरले सुत्केरीको घरमै स्वास्थ्य जाँच गर्ने कार्यक्रम ल्याउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य निगरानीका लागि ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। महानगरले आफ्नै आन्तरिक स्रोतबाट कार्यक्रम अघि बढाउने तयारी गरेको हो।

कार्यक्रमअन्तर्गत सुत्केरी भएको तेस्रो र सातौँ दिन स्वास्थ्यकर्मी घरमै पुगेर आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गर्नेछन्। महानगरका फोकल पर्सन चन्द्रा भट्टका अनुसार अस्पतालमा सुरक्षित रूपमा प्रसूति भए पनि त्यसपछिका दिनमा आमा र शिशुको स्वास्थ्यमा देखिन सक्ने जटिलताका कारण घरमै निगरानी आवश्यक हुन्छ।

सुत्केरीपछि आमामा रक्तश्राव, संक्रमण र उच्च रक्तचापलगायत समस्या देखिन सक्ने तथा नवजात शिशुमा पनि विभिन्न स्वास्थ्य जटिलता आउन सक्ने भएकाले त्यस्ता समस्या समयमै पहिचान गरी जोखिम घटाउनु कार्यक्रमको उद्देश्य रहेको महानगरले जनाएको छ।

महानगरका अनुसार सहरी जीवनशैली, परिवारको बदलिँदो संरचना र स्वास्थ्य संस्थासम्म नियमित पुग्नुपर्ने अवस्थाका कारण उत्तर प्रसूति स्याहारमा चुनौती देखिएको छ। यही अवस्थालाई ध्यानमा राखेर घरमै स्वास्थ्य सेवा पुर्‍याउने तयारी गरिएको हो।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसूतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गराउने दर ७० प्रतिशत छ। स्वास्थ्य संस्थामा प्रसूति भएका महिलामा यस्तो परीक्षणको दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसूति भएकामा २३ प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ।

काठमाडौं महानगरपालिकामा पनि घरमै सुत्केरी जाँच गराउने दरमा उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा दुई पटकसम्म घरमै सुत्केरी जाँच गराउने महिलाको अनुपात १.१८ प्रतिशत थियो। यो दर आव २०८१/८२ मा ११.१८ प्रतिशत पुगे पनि आव २०८२/८३ मा ४.७१ प्रतिशतमा झरेको महानगरको तथ्यांक छ।

Read More

बाढीले रेलेखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द

काठमाडौं । बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ। आयोजनाको बाँधमा बाढी पस्दा भौतिक संरचनामा क्षति पुगेपछि उत्पादन रोकिएको हो।

आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको वर्षासँगै रेलेखर्क क्षेत्रमा पहिरो गएको थियो। पहिरोपछि रेलेखोलामा बाढीको बहाव बढेर बाँधमा थुप्रिएपछि आयोजना सञ्चालन प्रभावित भएको हो।

बाँधस्थलसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोका कारण अवरुद्ध छ। दुर्गम क्षेत्रमा रहेको आयोजनामा बाढी तथा पहिरोले क्षति पुर्‍याएकाले तत्काल मर्मत गरी उत्पादन सुरु गर्न कठिनाइ भइरहेको काफ्लेले बताए।

ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजना गत वर्ष निर्माण सम्पन्न भएको थियो। आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

बाढीपहिरोका कारण आयोजनाले विद्युत् बिक्रीबाट हुने आम्दानी गुमाउनुका साथै भौतिक संरचनामा समेत क्षति बेहोर्नुपरेको छ। यसैगरी कालीगण्डकीमा आएको बाढीपहिरोले प्रसारण लाइनका टावर बगाउनुका साथै तार चुँडाएर क्षति पुर्‍याएको जनाइएको छ।

Read More

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे घर भई ललितपुर महानगरपालिका–१५ बस्ने ३२ वर्षीय विरेन्द्र तामाङ, मकवानपुर घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ३८ वर्षीय कमलप्रसाद गौतम, अछाम घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने ३३ वर्षीय गणेशबहादुर बुढा र रामेछाप घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने ४४ वर्षीय बद्रिकुमार तामाङ रहेका छन्।

प्रहरीका अनुसार विरेन्द्रले बेलायत पठाइदिने भन्दै एक जनाबाट रु ९ लाख, कमलले रोमानिया पठाउने भन्दै एक जनाबाट रु १ लाख तथा गणेशले अस्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै दुई जनाबाट रु ३ लाख लिएका थिए।

यस्तै, बद्रिले पोल्याण्ड पठाइदिने भन्दै पाँच जनाबाट रु २१ लाख ८९ हजार लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले विरेन्द्रलाई ललितपुर महानगरपालिका–३, कमललाई काठमाडौं महानगरपालिका–७ र गणेशलाई काठमाडौं महानगरपालिका–१३ बाट मंगलबार पक्राउ गरेको हो। बद्रिलाई भने बुधबार गोकर्णेश्वर नगरपालिका–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

Read More

बाढीपहिरोले देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक यातायात प्रभावित भएको छ। केही प्रमुख सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खसेपछि काठमाडौँ उपत्यका जोड्ने कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ।

गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा पनि बाढीपहिरोले आवागमन प्रभावित बनाएको छ। मनाङको बेँसीसहर–खाङ्सार सडक बाढीका कारण पूर्ण रूपमा बन्द छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो गएपछि बेनी–जोमसोम सडकखण्डमा यातायात ठप्प भएको छ।

नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार र बौदीकालीका विभिन्न स्थानमा पहिरो खसे पनि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। उक्त सडकमा ठूला सवारी साधन भने चल्न सकेका छैनन्।

कर्णाली प्रदेशको हुम्लामा पहिरोका कारण कर्णाली करिडोर तथा सिमकोट–हिल्सा सडकखण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएका छन्। खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो।

Read More

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा चालिसेले महाधिवेशनमा सहभागी हुन विभिन्न देशबाट अतिथि आउने क्रम सुरु भएको जानकारी दिए।

उनका अनुसार पार्टीले सकेसम्म सबैलाई समेटेर महाधिवेशन अघि बढाउने प्रयास गरिरहेको छ। अधिकांश नेता महाधिवेशनमा सहभागी हुने र व्यक्तिगत आकांक्षा भएका केही नेता भने बाहिर रहन सक्ने उनले बताए।

नयाँ ऊर्जाका साथ महाधिवेशन आयोजना गर्न लागिएको बताउँदै चालिसेले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिए।

उनले आगामी महाधिवेशनबाट गगन थापा सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने सम्भावना रहेको पनि बताए।

Read More

संघीय संसद्का दुवै सदन बैठक बस्दै, विभिन्न विधेयक अघि बढाइँदै

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुने कार्यसूची छ। यस क्रममा ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ अघि बढाउने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नेछिन्।

त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव राख्नेछन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित ऐन संशोधनसम्बन्धी विधेयक अघि बढाउने कार्यसूची छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यसअन्तर्गत आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक छन्।

बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यसूचीसमेत छ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पनि सभामा पेस गर्नेछिन्। यसैगरी, अघिल्ला बैठकमा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन्।

सभामुख डोलप्रसाद अर्यालले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदबाट प्राप्त अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन्। राष्ट्रपतिबाट प्राप्त पत्रसमेत सभामुखले बैठकमा पढेर सुनाउने कार्यक्रम छ।

राष्ट्रियसभाको बैठकमा पनि प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्नेछन्।

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा गरिएको संशोधनलाई सहमति दिने प्रस्ताव पेस हुनेछ।

यस्तै, ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूची राष्ट्रियसभाको बैठकमा राखिएको छ।

Read More

हिमाली विपद्का लागि सामान्य पूर्वसूचना पर्याप्त छैन : प्राधिकरण प्रमुख उप्रेती

काठमाडौं । हिमाली क्षेत्रमा पछिल्लो समय देखिएका असामान्य र अत्यन्त विनाशकारी विपद्को जोखिम न्यूनीकरणका लागि सामान्य पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका छन्।

बिहीबार आयोजित ‘परिवर्तनशील हिमालयमा जल सुरक्षाः विपत् उत्थानशीलता र आर्थिक वृद्धि तथा खाद्य सुरक्षाका लागि रूपान्तरण’ विषयक उच्चस्तरीय संवादमा उनले पूर्वसूचनाले खतरा आउँदैछ भन्ने जानकारी दिनुका साथै त्यसको गम्भीरता बुझाएर मानिस र सम्बन्धित निकायलाई तत्काल निर्णय लिन सक्ने बनाउनुपर्ने बताए।

हालै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीलाई उदाहरण दिँदै उप्रेतीले बाढी नदीको सीमाभित्रै रहने र बस्ती तथा घरसम्म नपुग्ने भन्ने आम बुझाइले पनि मानवीय क्षति बढाएको बताए। उनका अनुसार बाढीको असामान्य स्वरूपबारे पर्याप्त अनुमान नहुँदा जोखिमपूर्ण अवस्थामा समेत केही मानिसले त्यसको दृश्य खिच्ने प्रयास गरेका थिए।

गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो। उप्रेतीले पछिल्लो प्रकृतिका हिमाली विपद्लाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै वैज्ञानिक सूचना समुदाय र सम्बन्धित निकायले तत्काल प्रयोग गर्न सक्ने गरी रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

संवादमा अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (आईडब्लूएमआई)का महानिर्देशक डा. मार्क स्मिथले पानीलाई खाद्य, ऊर्जा, जनस्वास्थ्य, पारिस्थितिक प्रणाली तथा आर्थिक विकाससँग जोडेर हेर्नुपर्ने बताए। उनले पानी व्यवस्थापनमा एकीकृत, समावेशी र लक्ष्यकेन्द्रित योजना तथा लगानी आवश्यक रहेको धारणा राखे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र अमात्यले वित्तीय स्रोत, संस्थागत तथा प्राविधिक क्षमता, आधुनिक प्रविधिको पहुँच र दिगो निर्णय प्रणालीमा नेपालले चुनौती सामना गरिरहेको बताए। परियोजनाबाट विकास भएका प्रविधि, सीप र संस्थागत ज्ञानलाई सरकारी प्रणालीमै स्थापित गर्नुपर्ने उनको भनाइ थियो।

नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शम्सीले हिमाली क्षेत्रमा बढ्दो जल संकटलाई सम्बोधन गर्न सामान्य सुधारभन्दा व्यापक पुनर्संरचना आवश्यक रहेको बताए। हिमनदी पग्लिनु, अनियमित मनसुन र हिमनदी विस्फोटका घटना नेपालको वर्तमान जोखिमका रूपमा देखापरिरहेको उनले बताए।

आईडब्लूएमआई नेपालकी राष्ट्रिय प्रतिनिधि डा. मनोहरा खड्काले विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहसहित सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपालस्थित संयुक्त अरब इमिरेट्सको दूतावास र आईडब्लूएमआईको संयुक्त आयोजनामा भएको संवादमा जलवायु परिवर्तनबाट बढ्दो जल जोखिम, पानी सुरक्षा, कृषि तथा खाद्य प्रणाली, स्थानीय जीविकोपार्जन र अर्थतन्त्रमा पर्ने प्रभावबारे छलफल भएको थियो।

Read More