काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रे घर भई ललितपुर महानगरपालिका–१५ बस्ने ३२ वर्षीय विरेन्द्र तामाङ, मकवानपुर घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ३८ वर्षीय कमलप्रसाद गौतम, अछाम घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने ३३ वर्षीय गणेशबहादुर बुढा र रामेछाप घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने ४४ वर्षीय बद्रिकुमार तामाङ रहेका छन्।
प्रहरीका अनुसार विरेन्द्रले बेलायत पठाइदिने भन्दै एक जनाबाट रु ९ लाख, कमलले रोमानिया पठाउने भन्दै एक जनाबाट रु १ लाख तथा गणेशले अस्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै दुई जनाबाट रु ३ लाख लिएका थिए।
यस्तै, बद्रिले पोल्याण्ड पठाइदिने भन्दै पाँच जनाबाट रु २१ लाख ८९ हजार लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले विरेन्द्रलाई ललितपुर महानगरपालिका–३, कमललाई काठमाडौं महानगरपालिका–७ र गणेशलाई काठमाडौं महानगरपालिका–१३ बाट मंगलबार पक्राउ गरेको हो। बद्रिलाई भने बुधबार गोकर्णेश्वर नगरपालिका–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।



