काठमाडौं । बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ। आयोजनाको बाँधमा बाढी पस्दा भौतिक संरचनामा क्षति पुगेपछि उत्पादन रोकिएको हो।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको वर्षासँगै रेलेखर्क क्षेत्रमा पहिरो गएको थियो। पहिरोपछि रेलेखोलामा बाढीको बहाव बढेर बाँधमा थुप्रिएपछि आयोजना सञ्चालन प्रभावित भएको हो।
बाँधस्थलसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोका कारण अवरुद्ध छ। दुर्गम क्षेत्रमा रहेको आयोजनामा बाढी तथा पहिरोले क्षति पुर्याएकाले तत्काल मर्मत गरी उत्पादन सुरु गर्न कठिनाइ भइरहेको काफ्लेले बताए।
ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजना गत वर्ष निर्माण सम्पन्न भएको थियो। आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
बाढीपहिरोका कारण आयोजनाले विद्युत् बिक्रीबाट हुने आम्दानी गुमाउनुका साथै भौतिक संरचनामा समेत क्षति बेहोर्नुपरेको छ। यसैगरी कालीगण्डकीमा आएको बाढीपहिरोले प्रसारण लाइनका टावर बगाउनुका साथै तार चुँडाएर क्षति पुर्याएको जनाइएको छ।




