२०८३ आश्विन १५

अफगानिस्तानमा पाकिस्तानी हवाई कारबाही : महिला र बालबालिकासहित नौ जनाको मृत्यु भएको तालिबानको दाबी

काठमाडौँ । अफगानिस्तानका हेल्मन्ड र कुनार प्रान्तमा पाकिस्तानले गरेको भनिएको हवाई कारबाहीमा महिला तथा बालबालिकासहित नौ सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ। घटनामा थप ११ जना घाइते भएको उसको दाबी छ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार आक्रमणमा सर्वसाधारणका तीनवटा घर ध्वस्त भएका छन्। उनले घटनालाई आक्रामक कदमको संज्ञा दिँदै अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको आरोप लगाएका छन्।

पाकिस्तानले भने आफ्नो कारबाही सर्वसाधारणलाई नभई आतङ्कवादीका लुकेका स्थान र प्रशिक्षण शिविरलाई लक्षित गरिएको जनाएको छ। पाकिस्तानको सूचना मन्त्रालयका अनुसार प्रारम्भिक विवरणमा कारबाहीका क्रममा २२ जना आतङ्कवादी मारिएका छन्। लक्षित क्षेत्रबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद फेला पारी नष्ट गरिएको पनि मन्त्रालयको दाबी छ।

पाकिस्तानी पक्षले कारबाहीका क्रममा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर अधिकतम सावधानी अपनाइएको जनाएको छ। दुवै पक्षले सार्वजनिक गरेका हताहतका विवरण भने स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

अफगानिस्तान र पाकिस्तानबीच सीमापार हिंसा तथा उग्रवादी गतिविधिलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ। यस वर्षको सुरुदेखि तनाव थप चर्किएपछि पाकिस्तानले अफगानिस्तानभित्र पटकपटक हवाई कारबाही गरेको बताइएको छ।

पाकिस्तानले अफगानिस्तानमा रहेको तालिबान सरकारमाथि तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) लगायतका समूहलाई आफ्नो भूमिबाट गतिविधि सञ्चालन गर्न दिएको र त्यहाँबाट पाकिस्तानमा आक्रमण हुने गरेको आरोप लगाउँदै आएको छ। अफगानिस्तानले भने टिटिपीलाई सुरक्षित आश्रय दिएको आरोप अस्वीकार गर्दै आएको छ।

यसैबीच, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनका अनुसार यस वर्ष सीमापार हिंसाका घटनामा एक हजार एक सयभन्दा बढी अफगान नागरिकको मृत्यु वा घाइते भएका छन्।

पाकिस्तानले भने अफगान भूभागमा गरिने आफ्ना कारबाही सर्वसाधारणविरुद्ध नभई पाकिस्तानभित्र आक्रमण गर्ने आतङ्कवादीलाई लक्षित रहेको बताउँदै आएको छ।