२०८३ आश्विन १५

साल्ट ट्रेडिङले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल

काठमाडौं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

चाडपर्वका बेला बजारमा हुनसक्ने मूल्यवृद्धिलाई ध्यानमा राख्दै उपभोक्तालाई दैनिक उपभोग्य सामग्री सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको हो । पसलमा चाडपर्वका लागि आवश्यक खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको कर्पोरेशनले जनाएको छ ।

बनेपाको तीनदोबाटोस्थित साल्ट ट्रेडिङको वितरण केन्द्रमा रहेको सुपथ मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुनेछ । शनिबारसहित सातै दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसल खुला रहनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेशन बनेपा शाखाका कार्यालय प्रमुख सुरेन्द्र अवालेका अनुसार उपभोक्ताका लागि विभिन्न सामग्रीमा विशेष मूल्य निर्धारण गरिएको छ ।

सामग्रीमूल्य
नुन (प्रतिकेजी)रु २४
चिनी (प्रतिकेजी)रु १००
भान्साघर स्टिम जिरा मसिनो चामल (२५ केजी)रु २,५८०
मुसुरो दाल (प्रतिकेजी)रु १४०
रहर दाल (प्रतिकेजी)रु २१०
मास दाल (प्रतिकेजी)रु २०५
चना दाल (प्रतिकेजी)रु १५५
डिडीसी घ्युरु १,१४०
शान्ति तोरीको तेलरु ३८०
तृप्ति तोरीको तेलरु २७०
एसटिसी ग्यास सिलिन्डररु २,१६५
लुनार २,००० वाट इन्डक्सन कुकटपरु ४,९६०
किनमेल गर्ने झोलारु ३५

विभिन्न ब्रान्डका चामल, मुग दाल, सिमी तथा अन्य गेडागुडीसमेत छुट मूल्यमा उपलब्ध रहेको कर्पोरेशनले जनाएको छ । मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदा, कोदो र फापरको पिठो तथा मकै र जौको च्याख्ला पनि पसलमा राखिएको छ ।

त्यस्तै, सनबिम सूर्यमुखी तेल, अर्गानिक लसुन, अदुवा, दालचिनी, खुर्सानी, बेसारलगायत मसला तथा विभिन्न ब्रान्डका चिया पनि बिक्रीका लागि उपलब्ध छन् ।

खुला बजारको तुलनामा सुपथ मूल्य पसलमा केही खाद्यान्न तथा घरायसी सामग्री सस्तो दरमा पाइएपछि उपभोक्ताले राहत महसुस गरेको बताएका छन् ।

बनेपाकी उपभोक्ता रमिता नेपालीले चाडपर्वको समयमा नुन, तेल, चामल र दालजस्ता दैनिक आवश्यक सामग्री सहुलियत मूल्यमा पाउँदा घरखर्च व्यवस्थापनमा सहज भएको बताइन् ।

साल्ट ट्रेडिङले असोज १ गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको हो । कर्पोरेशनले बनेपा र धुलिखेलबाहेक विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा समेत सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ ।