काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचना र आगामी चुनाव लक्षित तीन महत्वपूर्ण मस्यौदा अनुमोदन गरेको छ।
आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनलाई स्वीकृति दिएको हो।
पार्टीका अनुसार अब आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने सदस्यहरूले ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा प्रशिक्षण पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। यसलाई योग्य र सक्षम नेतृत्व छनोट गर्ने प्रयासका रूपमा हेरिएको छ।
त्यसैगरी, महाधिवेशन र संसदीय दलसम्बन्धी कार्यविधिमा पनि केही सुधार गरिएको जनाइएको छ। रास्वपाले संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित यी निर्णयहरू अघि सारेको बताएको छ।




