काठमाडौँ । रसियामा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ। रुसले यसलाई पछिल्लो एक वर्षयताकै सबैभन्दा ठूलो ड्रोन हमला भएको दाबी गरेको छ।
अधिकारीहरूका अनुसार मस्को क्षेत्रमै तीन जनाको ज्यान गएको छ भने बेल्गोरोड क्षेत्रमा एक जनाको मृत्यु भएको हो। मस्को नजिकको खिम्की क्षेत्रमा ड्रोन खस्दा एक महिलाको मृत्यु भएको र पोगोरेल्की गाउँमा थप दुई पुरुष मारिएको जानकारी दिइएको छ।
सेर्गेई सब्यानिनका अनुसार रातिदेखि मस्कोतर्फ आएका ८१ वटा ड्रोन नष्ट गरिएको छ। आक्रमणका क्रममा करिब एक दर्जन व्यक्ति घाइते भएका छन्। केही आवासीय भवन र पूर्वाधारमा क्षति पुगेको बताइएको छ।
रुसको रक्षा मन्त्रालयले भने रातभर देशका विभिन्न क्षेत्रमा कुल ५५६ वटा ड्रोन खसालिएको दाबी गरेको छ। मस्कोको शेरेमेत्येभो विमानस्थल क्षेत्रमा पनि ड्रोनका टुक्रा फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ।
पछिल्ला महिनाहरूमा रुस–युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र बन्दै गएका छन्। राजधानी मस्कोलाई नै लक्षित गर्दै लगातार हमलाहरू हुन थालेपछि रुसभित्र सुरक्षा चुनौती थप गम्भीर बन्दै गएको विश्लेषण गरिएको छ।




