काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले थारू भाषामा पठनपाठन गराउने विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरेको छ। उपमहानगरपालिकाको वडा नं. १५ स्थित दक्षिण कुररियामा गुठीअन्तर्गत थारू भाषाको विद्यालय सञ्चालन गर्न स्वीकृति दिइएको हो।
दाङ थारू समुदायको उल्लेख्य बसोबास रहेको जिल्ला भएकाले मातृभाषामा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए। उनका अनुसार विद्यालयलाई गुठीका रूपमा सञ्चालन गरिनेछ।
स्थानीय रोहित चौधरीले तीन वर्षअघि थारू भाषाको विद्यालय सञ्चालनका लागि उपमहानगरपालिकासमक्ष निवेदन दिएका थिए। सोही निवेदनमाथि छलफल गर्दै उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठकले विद्यालय सञ्चालनको अनुमति दिने निर्णय गरेको हो।
हालसम्म दाङ जिल्लामा थारू समुदायका लागि गुठीअन्तर्गत छुट्टै विद्यालय सञ्चालनमा नरहेको जनाइएको छ। विद्यालयमा थारू भाषामार्फत अध्ययन–अध्यापन गराउन उपमहानगरपालिकाले स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने नगरप्रमुख खड्काले बताए।
उनले थारू समुदायका विद्यार्थीहरूको पर्याप्त सहभागिता भएमा विद्यालयलाई आवासीय स्वरूपमा समेत विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे। साथै, स्थानीय तहको पहलमा मातृभाषा शिक्षालाई संस्थागत गर्ने यो अभ्यास देशमै नयाँ रहेको उनको दाबी छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार तुलसीपुर उपमहानगरपालिकामा थारू समुदायको जनसङ्ख्या ३८ हजार ३२५ रहेको छ, जुन कुल जनसङ्ख्याको २१ प्रतिशत हो। तुलसीपुरमा सबैभन्दा बढी ३५.३ प्रतिशत क्षेत्री समुदायको बसोबास रहेको छ भने दोस्रो स्थानमा थारू समुदाय रहेको तथ्याङ्कले देखाउँछ।
यसअघि तुलसीपुरकै वीरेन्द्र माध्यमिक विद्यालय, भ्यूडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालनमा रहेको थियो। उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीका अनुसार भाषागत कक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गरी पनि अध्यापन गराउन सकिने व्यवस्था रहेको छ।



