२०८३ जेष्ठ २३

अस्ट्रेलियामा न्यूनतम तलब ४.७५ प्रतिशतले वृद्धि, मुद्रास्फीतिमा दबाब बढ्न सक्ने चेतावनी

काठमाडौँ ।  अस्ट्रेलियाको स्वतन्त्र तलब निर्धारण निकाय फेयर वर्क कमिसनले देशका करिब २८ लाख न्यून आय भएका कामदारहरूको न्यूनतम तलब आगामी जुलाईदेखि ४ दशमलव ७५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।

नयाँ व्यवस्थाअनुसार जुलाई १ देखि न्यूनतम साप्ताहिक तलब १ हजार ४ अस्ट्रेलियन डलर ९० सेन्ट पुग्नेछ, जुन करिब ७१९ अमेरिकी डलर बराबर हो। यससँगै प्रतिघण्टा न्यूनतम ज्याला २६ अस्ट्रेलियन डलर ४४ सेन्ट कायम हुनेछ।

यो वृद्धि गत वर्षको तुलनामा बढी हो। सन् २०२५ मा न्यूनतम तलब ३ दशमलव ५ प्रतिशतले बढाइएको थियो। यद्यपि, ट्रेड युनियनहरूले समीक्षा अवधिमा ५ देखि ६ प्रतिशतसम्म तलब वृद्धि गर्न माग गरेका थिए।

फेयर वर्क कमिसनले अस्ट्रेलियाली केन्द्रीय बैंक रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) को कडा मौद्रिक नीतिले आगामी वर्ष आर्थिक वृद्धिमा सुस्तता ल्याउन सक्ने उल्लेख गरेको छ। साथै, अमेरिका–इरान तनाव तथा पश्चिम एसियामा जारी द्वन्द्वका कारण तेल आपूर्तिमा अवरोध उत्पन्न हुँदा मुद्रास्फीतिमा पुनः दबाब देखिएको आयोगको निष्कर्ष छ।

आयोगले वर्तमान आर्थिक अनिश्चितताका बीच वास्तविक तलब वृद्धि सुनिश्चित गर्न कठिन भए पनि कामदारहरूको क्रयशक्ति सन् २०२५ जुलाईको स्तरभन्दा तल नझरोस् भन्ने उद्देश्यले तलब समायोजन गरिएको जनाएको छ।

यता, केही अर्थशास्त्री तथा वित्तीय संस्थाहरूले भने तलब वृद्धिले मुद्रास्फीतिमा थप दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्। लगानी बैंकिङ कम्पनी सिटीग्रुपका विश्लेषकहरूका अनुसार न्यूनतम तलब वृद्धिले व्यवसायहरूको सञ्चालन लागत बढाउने र त्यसको असर मूल्यवृद्धिमा पर्न सक्ने सम्भावना छ।

उनीहरूले आरबीएले आगामी अगस्टमा ब्याजदर चौथोपटक वृद्धि गर्दै ४ दशमलव ६ प्रतिशतसम्म पुर्‍याउन सक्ने अनुमान पनि गरेका छन्।

वित्तीय सेवा प्रदायक कम्पनी वेष्टप्याकले समेत तलब वृद्धि अपेक्षाभन्दा उच्च रहेको टिप्पणी गर्दै मुद्रास्फीति अपेक्षाकृत लामो समयसम्म उच्च स्तरमै कायम रहन सक्ने चेतावनी दिएको छ।