२०८३ श्रावण १४

सर्पदंशबाट हुने मृत्यु घट्दै, भरतपुर अस्पतालमा उपचार प्रभावकारी

काठमाडौं। पछिल्ला वर्षहरूमा सर्पदंशका कारण हुने मृत्युमा उल्लेख्य कमी आएको छ। समयमै अस्पताल पुग्ने र उपचार सुविधा विस्तार भएपछि सर्पदंशका बिरामीको ज्यान जोगिने दर बढेको हो।

भरतपुर अस्पतालका अनुसार गत आर्थिक वर्षमा ४९१ जना सर्पदंशका बिरामीले उपचार लिएका छन्। तीमध्ये कसैको पनि मृत्यु भएको छैन। १४ जनालाई भने सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको थियो।

अस्पतालका चिकित्सकका अनुसार पहिले विषालु सर्पको टोकाइबाट मृत्यु हुने दर उच्च थियो। सघन उपचार कक्ष र एन्टिस्नेक भेनमको प्रभावकारी प्रयोगपछि मृत्युदर घट्दै गएको छ।

चितवनसहित नवलपुर, मकवानपुर र तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन्। वर्षायाम र खेतीपातीको समयमा सर्पदंशका घटना बढी हुने चिकित्सकहरू बताउँछन्।

विषालु सर्पले टोकेमा कमजोरी, आँखाको परेला झर्नु, हातखुट्टा चलाउन नसक्नु, वान्ता हुने र बेहोस हुनेजस्ता लक्षण देखिन सक्छन्। सर्पले टोकेपछि दौडधुप नगरी शान्त रहन, टोकेको भागलाई स्थिर राख्न र तत्काल अस्पताल पुग्न चिकित्सकले सुझाव दिएका छन्।