२०८३ श्रावण १५

झापामा एक वर्षमा २४ हजारभन्दा बढी नागरिकता र राहदानी वितरण

काठमाडौं । झापाका प्रशासनिक निकायबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ हजारभन्दा बढी नागरिकता र सोही हाराहारीमा राहदानी वितरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जबाट गरी २४ हजार ८५१ जनाले नागरिकता र २४ हजार ४६६ जनाले राहदानी प्राप्त गरेका छन्। नागरिकता र राहदानी लिनेको सङ्ख्या लगभग बराबर हुनुले युवाहरूको वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने क्रम कायमै रहेको देखिएको छ।

गत आवमा ३७८ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन्। बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई कानुनी व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता दिइएको हो।

यस अवधिमा झापामा ९७ हजार ४७७ जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ भने ९८ हजार ६८९ थान राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहसँगै राजस्व सङ्कलनमा पनि योगदान पुर्‍याएको छ। गत आवमा राहदानी शुल्क र अन्य प्रशासनिक शुल्क गरी कुल रु १५ करोड ३१ लाख २३ हजार ५११ राजस्व सङ्कलन भएको जनाएको छ।

त्यस्तै, मिटरब्याज, नियामक निकाय तथा ठाडो उजुरीसम्बन्धी ४७९ वटा निवेदन फछ्र्योट गरिएको छ भने ९२९ जनालाई नाबालक परिचयपत्र उपलब्ध गराइएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउँदै लगिएको बताए। सेवाग्राहीको प्रतिक्रिया लिन ‘सेवा सन्तुष्टि क्युआर’ सञ्चालन गरिएको र सार्वजनिक सुनुवाइलाई निरन्तरता दिइएको उनले जानकारी दिए।