२०८३ आश्विन १

सिरहामा प्रहरीमाथि गोली प्रहार: हवल्दार नारद परियार घाइते, आक्रमणकारीको खोजी तीव्र

काठमाडौँ । सिरहामा कार्यरत एक प्रहरीमाथि गोली प्रहार भएको छ। घटनामा जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी हवल्दार नारद परियार घाइते भएका छन्।

प्रहरीका अनुसार परियारको दाहिने तिघ्रामा गोली लागेको छ। घटनालगत्तै उनलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको बताइएको छ। गोली प्रहार कसले र किन गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि सुरक्षा निकायले खोजी तीव्र बनाएको जनाएको छ।

घटनाको कारण र अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। अनुसन्धान अघि बढेसँगै थप तथ्य सार्वजनिक गरिने सुरक्षा स्रोतले जनाएको छ।

Read More

मधेश घटनापछि प्रमको राष्ट्रका नाममा अपिल: ‘अफवाह होइन, आधिकारिक सूचनामा विश्वास गरौ’

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले पछिल्लो समय मधेश केन्द्रित जिल्लाहरूमा विकसित घटनाक्रमप्रति सरकार गम्भीर रहेको भन्दै आगामी दिनमा राज्य अझ जिम्मेवार ढंगले प्रस्तुत हुने बताएका छन्। उनले शान्ति, सामाजिक सद्भाव र नागरिकको सुरक्षालाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा, समुदायका नेतृत्वकर्ता तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद र समन्वय भइरहेको जानकारी दिए।

उनले संवेदनशील परिस्थितिमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अपुष्ट सूचना, अफवाह र घृणा फैलाउने सामग्रीको प्रचार–प्रसार नगर्न सबैलाई आग्रह गरे। यस्ता गतिविधिले समुदायबीच अविश्वास र वैमनस्य बढाउने भएकाले संयमता अपनाउनुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री शाहले सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनामाथि मात्रै विश्वास गर्न नागरिकलाई अनुरोध गर्दै भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरे।

सम्बोधनका क्रममा उनले प्रत्येक नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र देशमा शान्ति कायम राख्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकार त्यसप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्रीले सबै पक्षलाई संयम, जिम्मेवारी र आपसी विश्वास कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न पनि आह्वान गरेका छन्।

Read More

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको कारोबारको क्रममा सेयर बजारमा गिरावट जारी रहेको छ। नेप्से परिसूचक आज १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा झरेको छ।

नेप्से घटेसँगै कारोबार रकममा समेत कमी आएको छ। बुधबार ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज ३३७ वटा कम्पनीका ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर खरिदबिक्री भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये ५९ वटा स्टकको मूल्य बढ्दा २०६ वटाको मूल्य घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड रुपैयाँ, रिडी पावर र कालिञ्चोक हाइड्रोपावरको १०/१० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन नेप्सेका १३ वटै समूहका उपसूचक नकारात्मक देखिएका छन्।

Read More

राहदानीको भीडपछि ईपीएस कोरियन भाषा परीक्षाको आवेदन अवधि साउन २० गतेसम्म थपियो

काठमाडौं । राहदानी विभागमा पासपोर्ट बनाउने सेवाग्राहीको चाप बढेपछि ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको आवेदन दिने समय दुई दिन थप गरेको छ।

शाखाले बिहीबार सूचना जारी गर्दै आवेदनको अन्तिम म्याद साउन २० गतेसम्म कायम गरिएको जनाएको छ।

ईपीएस कोरिया शाखाका अनुसार राहदानी विभागमा बढेको भीडका कारण योग्य तथा इच्छुक नागरिक आवेदन दिनबाट वञ्चित नहून् भन्ने उद्देश्यले आवेदन अवधि थपिएको हो।

शाखाले हाल राहदानीको म्याद समाप्त भइसकेका आवेदकलाई पनि सोही राहदानीको विवरण प्रविष्टि गरी आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ। भाषा तथा सीप परीक्षा उत्तीर्ण गरी रोजगार आवेदन फाराम भर्ने समयमा भने बहाल रहेको (म्याद बाँकी भएको) राहदानी पेश गरे पुग्ने व्यवस्था गरिएको छ।

यता, राहदानी विभागले पनि ईपीएस आवेदनका लागि पासपोर्ट बनाउन आउने सेवाग्राहीको चाप बढेको भन्दै शनिबार र आइतबारसमेत सेवा सञ्चालन गर्ने जनाएको छ।

Read More

चार दिनपछि वीरगन्जका अस्पतालमा उपचार सेवा सुचारु, चिकित्सकहरू काममा फर्किए

काठमाडौं। वीरगन्जका अस्पतालहरूमा चार दिनदेखि अवरुद्ध रहेको बिरामी उपचार सेवा पुनः सञ्चालनमा आएको छ। नारायणी अस्पतालमा आकस्मिक सेवा बुधबार राति ९ बजेदेखि र ओपीडी सेवा बिहीबार बिहानदेखि सुचारु भएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले जानकारी दिए।

गत शनिबार नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नारायणी अस्पतालसहित वीरगन्जका अस्पतालका चिकित्सकहरूले आइतबारदेखि आकस्मिक सेवासहित सबै उपचार सेवा बन्द गर्दै आन्दोलन थालेका थिए।

बुधबार काठमाडौंमा नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच पाँचबुँदे सहमति भएपछि उपचार सेवा पुनः सञ्चालन गर्ने वातावरण बनेको हो। साथै, नारायणी अस्पतालमा भएको घटनामा संलग्न व्यक्तिहरूविरुद्ध नेपाल चिकित्सक संघ नारायणी शाखा र अस्पताल प्रशासनले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि चिकित्सकहरूले आन्दोलन स्थगित गर्दै काममा फर्किएका हुन्।

डा. सिंहका अनुसार घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता प्रहरी प्रशासनबाट आएपछि अस्पतालका सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।

नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

यसैबीच, आन्दोलनरत चिकित्सकहरूसँग जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेका बेला चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप लागेका पर्साका तत्कालीन प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ। उनको स्थानमा प्रहरी उपरीक्षक पवन भट्टराईलाई बुधबार साँझ नै पर्सामा खटाइएको छ।

गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२५ का राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेको थियो। त्यसको विरोधमा वीरगन्जका चिकित्सकहरूले आइतबारदेखि र देशभरका चिकित्सकहरूले मंगलबारदेखि उपचार सेवा ठप्प पार्दै आन्दोलन गरेका थिए।

Read More

सिरहाको गोलबजारका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, प्रशासनद्वारा शान्ति–सुरक्षामा सहयोगको अपिल

काठमाडौं । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार जारी गरेको आदेशअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन तथा हुलदङ्गाका कारण शान्ति–सुरक्षामा असर पर्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा गोलबजार नगरपालिका–३ को कहरहा खोलादेखि पश्चिममा चौर्हवा चोकसम्म, उत्तरमा वडा नम्बर ६ को सैनिक चोकदेखि दक्षिणतर्फ तथा वडा नम्बर ४ स्थित राजकीय प्राविधिक बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा लागू हुनेछ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश जारी नभएसम्म कायम रहनेछ।

प्रशासनले आदेशको पूर्ण पालना गर्न तथा जिल्लामा शान्ति र सुरक्षा कायम राख्न सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। कर्फ्यु आदेश उल्लङ्घन गरी कुनै पनि गतिविधि सञ्चालन गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्रशासनका अनुसार सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने प्रभावित क्षेत्रमा निगरानीसमेत बढाइएको छ। स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

Read More

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न प्रभावकारी कार्यसम्पादन गर्ने सुरक्षा परिषद्को निर्णय

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्ले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम राख्न प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने तथा गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको परिषद्को ४३औँ बैठकले सुनसरीमा हालै भएको घटनाको समीक्षा गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्ने निर्णय गरेको हो।

परिषद्का सदस्य–सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार सबै सुरक्षा निकाय, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने गरी कार्यसम्पादन गरिनेछ।

बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाका साथै समसामयिक घटनाक्रमबारे गम्भीर समीक्षा र विश्लेषण गरिएको पनि सचिव शर्माले जानकारी दिए।

त्यसैगरी, विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय गरी खोज, उद्धार तथा राहतका कार्य समयमै सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

Read More

सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन, निष्पक्ष छानबिनको माग

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै घटनामा सरकारको पहल पर्याप्त नभएको आरोप लगाए।

विश्व हिन्दू परिषद्को अगुवाइमा विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरू सहभागी भएको प्रदर्शन मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट सुरु भई जिल्ला प्रशासन कार्यालयको गेटसम्म पुगेको थियो।

प्रदर्शनका क्रममा ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लगाइएको थियो। प्रशासन कार्यालय आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने सम्भावित अवस्थालाई ध्यानमा राख्दै ब्यारिकेटसमेत राखिएको थियो।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपमा एक युवाको मृत्यु भएपछि विभिन्न जिल्लामा विरोध प्रदर्शन हुँदै आएको छ। यसैबीच, हिन्दू सम्राट नेपाल मोरङ जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।

Read More

सरकारको कामप्रति जनताको अपेक्षा पूरा नभएको प्रचण्डको टिप्पणी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीति अझै सहज अवस्थामा नआएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुई तिहाइ नजिकको सरकार बने पनि राजनीतिक अवस्था अपेक्षाअनुसार अघि बढ्न नसकेको टिप्पणी गरे।

उनले नयाँ र पुरानो राजनीतिक शक्तिको बहस भइरहे पनि नयाँ पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए। सरकारप्रति नागरिकको ठूलो आशा रहे पनि पछिल्ला गतिविधिले निराशा बढाएको उनको भनाइ थियो।

प्रचण्डले सरकारका विभिन्न निर्णय र कामकारबाही, सुकुम्बासी समस्या, ट्रेड युनियन अधिकार, विद्यार्थीका विषय, सीमा र राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयमा जनतामा चिन्ता बढेको दाबी गरे।

उनले सरकारबाट राम्रो कामको अपेक्षा गरिए पनि कतिपय अवस्थामा पुराना भनिएका शक्तिभन्दा पनि कमजोर देखिने अवस्था आएको टिप्पणी गरे।

Read More

सुनसरी घटनापछि सरकार उपचार र सद्भाव कायम गर्न सक्रिय रहेको सांसद न्यौपानेको भनाइ

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले सुनसरी घटनापछि सरकार समस्या समाधान र सद्भाव कायम गर्न सक्रिय रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले संसदमा सरकारको उपस्थिति खोज्ने विपक्षी सांसदलाई जवाफ दिँदै सरकार घटनाको मल्हमपट्टि लगाउने काममा केन्द्रित रहेको बताए।

उनले सरकार घाइतेको उपचार, अवस्था सामान्य बनाउने र साम्प्रदायिक हिंसा रोक्न नागरिकलाई आग्रह गर्ने काममा लागेको दाबी गरे। आफूहरू घटनास्थलमै रहेर रातदिन खटिएको उल्लेख गर्दै उनले विपक्षी सांसदहरूलाई घटनास्थलमा आफ्नो भूमिका के थियो भन्दै प्रश्न गरे।

सांसद न्यौपानेले समाजमा सद्भाव कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। उनले जात, धर्म, लिङ्ग वा सम्प्रदायका आधारमा समाजलाई विभाजित गर्ने गतिविधि रोक्नुपर्ने धारणा राख्दै सुनसरी घटनाले देशभरका नागरिकलाई सचेत हुनुपर्ने सन्देश दिएको बताए।

Read More