काठमाडौं । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले सुनसरी घटनापछि सरकार समस्या समाधान र सद्भाव कायम गर्न सक्रिय रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले संसदमा सरकारको उपस्थिति खोज्ने विपक्षी सांसदलाई जवाफ दिँदै सरकार घटनाको मल्हमपट्टि लगाउने काममा केन्द्रित रहेको बताए।
उनले सरकार घाइतेको उपचार, अवस्था सामान्य बनाउने र साम्प्रदायिक हिंसा रोक्न नागरिकलाई आग्रह गर्ने काममा लागेको दाबी गरे। आफूहरू घटनास्थलमै रहेर रातदिन खटिएको उल्लेख गर्दै उनले विपक्षी सांसदहरूलाई घटनास्थलमा आफ्नो भूमिका के थियो भन्दै प्रश्न गरे।
सांसद न्यौपानेले समाजमा सद्भाव कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। उनले जात, धर्म, लिङ्ग वा सम्प्रदायका आधारमा समाजलाई विभाजित गर्ने गतिविधि रोक्नुपर्ने धारणा राख्दै सुनसरी घटनाले देशभरका नागरिकलाई सचेत हुनुपर्ने सन्देश दिएको बताए।




