२०८३ श्रावण १९

भारतीय मोटरसाइकलको ठक्करबाट विराटनगरमा पैदल यात्रीको मृत्यु

काठमाडौं । विराटनगर महानगरपालिका–४ आयल निगमस्थित कोशी राजमार्गमा भारतीय मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

आइतबार राति बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बीआर ११ एडब्लू १७२८ नम्बरको भारतीय मोटरसाइकलले पैदल हिँडिरहेका करिब ५० वर्षीय नेपाली नागरिकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मृतक भारतको कोलकाताका स्थायी बासिन्दा भए पनि हाल विराटनगर–४ कदमगाछीमा भरत चौधरीको घरमा डेरा गरी बस्दै आएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगर लगिएको थियो। टाउको, गाला र निधारमा गम्भीर चोट लागेका उनको राति ९ः२० बजे उपचारका क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्।

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालक भारत जोगवनीका २८ वर्षीय शौरभकुमार सुमन साह तथा मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय मोहम्मद दानिसलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।