काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि पुनः आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघको हालै सम्पन्न परिषद् बैठकले बाँकी मागहरू पूरा गराउन सरकारमाथि दबाब बढाउने उद्देश्यले आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार परिषद् बैठकले आन्दोलनमा जाने सैद्धान्तिक निर्णय गरिसकेको छ। आन्दोलनको ठोस मिति र स्वरूप भने छिट्टै बस्ने विस्तारित कार्यालय बैठकले तय गर्नेछ।
महासंघले लामो समयदेखि जारी नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागलाई पुनः प्राथमिकताका साथ उठाएको छ। साथै, सरकारले हालै ल्याएको शिक्षा नियमावलीको १०औँ संशोधनका केही प्रावधानप्रति समेत महासंघले असहमति जनाएको छ।
महासंघले विशेषगरी शिक्षक सरुवाको विभेदकारी व्यवस्था हटाउनुपर्ने, विद्यालय कर्मचारी तथा प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकहरूको सेवा–सुविधा र दरबन्दीको उचित व्यवस्थापन गर्नुपर्ने तथा राहत, करार र साविक उच्च माध्यमिक तहका अस्थायी शिक्षकहरूको स्थायी व्यवस्थापन र न्यायोचित समायोजन गर्नुपर्ने माग राख्दै आएको छ।
पटक–पटक भएका सहमति र सम्झौता कार्यान्वयनमा सरकारले बेवास्ता गरेको आरोप लगाउँदै महासंघका पदाधिकारीहरूले बाध्य भएर पुनः सडक आन्दोलनको बाटो रोज्नुपरेको बताएका छन्।

