२०८३ श्रावण १८

नर्स ज्योति रानाभाटको अनशनप्रति मन्त्री मेहताको ध्यानाकर्षण, वार्ताबाट समाधान खोज्ने प्रतिबद्धता

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री निशा मेहताले अनशनरत नर्स ज्योति रानाभाटको सत्याग्रहप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री मेहताले आफू स्वास्थ्यकर्मीसमेत भएकाले पाँच दिनदेखि अनशनरत रानाभाटको माग र स्वास्थ्य अवस्थाप्रति संवेदनशील रहेको उल्लेख गरेकी छन्।

उनले समस्या समाधानका लागि संवाद नै प्रभावकारी माध्यम भएको बताउँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरुदेखि नै वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत पटक–पटक संवाद र समन्वयको प्रयास गर्दै आएको जानकारी दिएकी छन्।

मन्त्री मेहताका अनुसार स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिका सभापतिले पनि यस विषयमा वार्ताका लागि निरन्तर पहल गरिरहेका छन्।

उनले हाल सुनसरीमा भएको घटनाको व्यवस्थापन, पीडित परिवारसँगको समन्वय र स्थानीय अवस्था सामान्य बनाउन आफू सुनसरीमै रहेकाले त्यहाँको जिम्मेवारी प्राथमिकतामा रहेको बताएकी छन्।

यद्यपि नर्स रानाभाटको विषयलाई आफूले निरन्तर प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री मेहताले आज पनि सम्बन्धित पक्षसँग पुनः वार्ता गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्। उनले सकारात्मक निष्कर्षमा पुग्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएकी छन्।

Read More

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार सिंहदरबारस्थित कार्यालयमा आज दिउँसो ३ः३० बजे बैठक बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता तथा पार्टीको आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा सहभागी हुन कांग्रेसले आफ्ना सबै सांसदहरूलाई उपस्थितिका लागि निर्देशन दिएको छ।

Read More

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन आएका विद्यार्थीको मृत्यु

काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन आएका एक विद्यार्थीको भवनबाट खसेर मृत्यु भएको छ।

बेदकोट नगरपालिका–४ बगुनका २३ वर्षीय उत्तमसिंह कार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शनिबार विश्वविद्यालयको दोस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि अस्पताल लगिएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार कार्कीले सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तह होटल व्यवस्थापन (बीएचएम) प्रथम सेमेस्टरको प्रवेश परीक्षा दिएपछि भवनको दोस्रो तलाबाट हामफालेका थिए।

शनिबार बिहान सवा ८ बजेदेखि सुरु भएको परीक्षामा सहभागी भएका कार्की सवा ९ बजे कक्षाकोठाबाट बाहिरिएका थिए। त्यसपछि उनी भवनको दोस्रो तलाको रेलिङमा चढेर हामफालेको प्रहरीले जनाएको छ।

घटनापछि उनलाई एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो।

माया मेट्रो अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए।

मृतक कार्की स्थानीय व्यवसायी पदमसिंह कार्कीका कान्छा छोरा हुन्। उनले वैजनाथ माध्यमिक विद्यालयबाट माध्यमिक तह (प्लस टु) अध्ययन पूरा गरेका थिए।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

देवेनरा मुन्दडा समूहको निवासमा प्रहरी छापा, अनुसन्धान जारी

काठमाडौं । प्रख्यात औद्योगिक घराना देवेनरा मुन्दडा समूहको विराटनगरस्थित निवासमा प्रहरीले छापा मारेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कविक कटवालका अनुसार प्राप्त सूचनाका आधारमा आज बिहानदेखि विराटनगर महानगरपालिका–७ स्थित मुन्दडा निवासमा छापा मारिएको हो। प्रहरीले बिहान ५ बजेदेखि सुरु गरेको खोज तथा अनुसन्धानको काम जारी रहेको जनाएको छ।

मुन्दडा नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्षसमेत हुन्।

देवेनरा समूह उद्योगपति देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको औद्योगिक समूह हो। चारै जना दाजुभाइ हुन्।

समूहले तेल, साबुन, अगरबत्ती, चप्पललगायत विभिन्न उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएको छ। देवेनरा समूह नेपालको ठूलो चाँदी उद्योग सञ्चालकमध्ये एक रहेको बताइएको छ।

मुन्दडा समूहअन्तर्गत जेजे ज्वेलर्स, बाबा आयल रिफाइनरी, हाइलाइफ चप्पललगायत उद्योग सञ्चालनमा रहेका छन्। प्रहरीले छापाको विषयमा थप विवरण सार्वजनिक गरेको छैन।

Read More

श्रावणको तेस्रो सोमबार पशुपतिनाथसहित शिवालयमा दर्शनार्थीको भीड

काठमाडौं । चान्द्रमासअनुसार श्रावणको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बोल बम यात्रुका लागि पनि विशेष व्यवस्था गरिएको छ भने मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ।

पशुपतिनाथ मन्दिरसँगै काठमाडौं उपत्यकाका अन्य प्रमुख शिवालयहरूमा पनि भक्तजनको भीड बढेको छ। गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत विभिन्न शिवालयमा दर्शनार्थीको लाम लागेको जनाइएको छ।

श्रावण महिनाका सोमबार भगवान् शिवको पूजा, आराधना र दर्शनका लागि विशेष दिन मानिने भएकाले देशभरका शिवालयमा भक्तजनको विशेष उपस्थिति रहने गर्दछ।

Read More

दुर्गा प्रसाईं पक्राउ, अनुसन्धानका लागि अदालतबाट म्याद थपको तयारी

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म तथा संस्कृति बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

प्रहरीले प्रसाईंलाई आइतबार राति नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली र जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काको टोलीले उनलाई राति १०ः२२ बजे भक्तपुरको निकोसेरास्थित निवासबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रसाईंलाई सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको हो। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने घोषणा गरेका थिए। प्रहरीले आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।

Read More

रोल्पामा ४.४ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण प्राप्त भएन

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पको धक्का रोल्पासहित आसपासका छिमेकी जिल्लाहरूमा पनि महसुस गरिएको थियो। हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षति भएको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन।

सम्बन्धित निकायले भूकम्पपछिको अवस्थाबारे निगरानी गरिरहेको जनाएको छ।

Read More

अन्नपूर्ण गाउँपालिकामा आज शोक बिदा, निम्स दाइप्रति श्रद्धाञ्जलि

काठमाडौं। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज शोक बिदा दिएको छ। अन्नपूर्ण गाउँपालिका–३ दाना पुर्जाको जन्मस्थल हो।

गाउँपालिका अध्यक्ष भारतकुमार पुनद्वारा जारी सूचनाअनुसार पाकिस्तानमा हिमपहिरोमा परी निधन भएका निर्मल पुर्जासहितका पर्वतारोहीहरूको सम्मानस्वरूप सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय तथा विद्यालय बन्द रहनेछन्।

निर्मल पुर्जासहित १० सदस्यीय पर्वतारोहण टोली पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेको थियो। उक्त दुर्घटनामा टोलीका सदस्यहरूको निधन भएको थियो।

गाउँपालिकाले दिवंगत पर्वतारोहीहरूप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

Read More

आज संघीय संसद् : राष्ट्रियसभा बैठक बस्दै, चार संसदीय समितिको पनि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ राष्ट्रियसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

आज बस्ने संसदीय समितिहरू

संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा लेखा समितिको बैठक पनि बस्नेछ।

  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – बिहान ११ः०० बजे
    ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ।
  • महिला तथा सामाजिक मामिला समिति – बिहान ११ः०० बजे
    साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
  • अर्थ समिति – दिउँसो १ः०० बजे
    ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ।
  • लेखा समिति – अपराह्न २ः०० बजे
    समितिमा प्राप्त उजुरीहरूमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

आजका बैठकहरूमा विभिन्न विधेयक, वार्षिक प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयमा छलफल हुने भएकाले संसद्को गतिविधि व्यस्त रहनेछ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक अवस्थित रहेकाले अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी प्रदेश

प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेश

प्रदेशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनेछ। तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। केही क्षेत्रमा वर्षाका कारण सडक तथा दैनिक जनजीवन प्रभावित हुन सक्नेछ।

बागमती प्रदेश

पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

गण्डकी प्रदेश

प्रदेशका अधिकांश स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ। पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेश

पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

कर्णाली प्रदेश

प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्नेछ। अन्य स्थानमा आंशिकदेखि सामान्य वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश

प्रदेशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको मौसम

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ।

सतर्कता अपनाउनुहोस्

जल तथा मौसम विज्ञान विभागले भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

Read More