२०८३ श्रावण १८

जलविद्युत् प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँमै सेयर दिन इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अङ्कित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै सेयर उपलब्ध गराउन प्रवर्द्धक कम्पनीहरूलाई आग्रह गरेको छ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार केही जलविद्युत् आयोजनाको साधारण सेयर निष्कासन प्रक्रियामा ढिलाइ भइरहेका बेला कतिपय प्रवर्द्धक कम्पनीले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयमा संस्थाको ध्यानाकर्षण भएको हो।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार स्थानीय प्रभावित बासिन्दालाई आयोजनामा सहभागी गराउने उद्देश्यले १० प्रतिशत सेयर उपलब्ध गराउने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार अङ्कित मूल्यमा नै सेयर उपलब्ध गराउन इप्पानले आफ्ना सदस्य कम्पनीहरूलाई आग्रह गरेको हो।

इप्पानले जलविद्युत् आयोजना केवल लगानीको माध्यम नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकास अभियानसमेत भएको जनाएको छ।

आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव व्यहोर्ने र निर्माण अवधिका असुविधा सहने स्थानीय समुदायलाई आयोजनाको स्वामित्वमा सहभागी गराउने उद्देश्यले स्थानीयका लागि सेयर छुट्याइएको इप्पानको भनाइ छ।

स्थानीय प्रभावितका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निष्कासन गर्दा समुदायको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्व कमजोर बन्ने र आयोजना तथा स्थानीयबीचको सम्बन्धमा असर पर्न सक्ने इप्पानले जनाएको छ।

अङ्कित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय समुदाय आयोजनाका वास्तविक साझेदार बन्ने, सामाजिक विवाद कम हुने तथा आयोजना निर्माण र सञ्चालनमा सहयोगी वातावरण बन्ने संस्थाको विश्वास छ।

इप्पानले सरकार, नियामक निकाय र प्रवर्द्धक कम्पनीहरूलाई स्थानीय समुदायको हित, जलविद्युत् क्षेत्रको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र–समुदायबीचको सम्बन्धलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।

साथै, साधारण सेयर निष्कासनसँग सम्बन्धित नियामकीय प्रक्रिया सरल, पारदर्शी र समयमै सम्पन्न हुने व्यवस्था मिलाउन पनि इप्पानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।