काठमाडौं । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार दुई दिन रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको हो।
निर्णयअनुसार आइतबार र सोमबार साँझ ७ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म यी सडकखण्डमा सवारी आवागमन बन्द रहनेछ।
बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ। यही सडकमार्फत यात्रुहरूले मुस्ताङको मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्ने गरेका छन्।
पश्चिम म्याग्दीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक पनि दुई दिन रातिको समयमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिएका छन्।
सम्भावित बाढी, पहिरो तथा सडक जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका लागि यातायात रोकिएको प्रशासनले जनाएको छ।




