काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डमा कसको आदेशमा गोली चलाइएको हो भन्ने प्रश्न उठाएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरीको गोली लागेर युवकको मृत्यु भएको उल्लेख गरेकाले घटनाको वास्तविकता स्पष्ट गर्न सरकारसँग माग गरिन्।
उनले गोली प्रहरीले चलाएको भए आदेश दिने व्यक्ति को हो भन्ने प्रश्न गर्दै राज्यबाट भएका गोली प्रहारका घटनामा जवाफदेहिता आवश्यक रहेको बताइन्।
सांसद ओलीले स्थानीय तह, प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीबाट आएका विवरणमा फरक–फरक धारणा देखिएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय आयोगमार्फत निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिन्।
उनले राज्यका सुरक्षा निकायबाट भएका गोली प्रहारका घटनामा फरक मापदण्ड हुन नहुने बताउँदै अनुमान र औपचारिक वक्तव्यभन्दा बाहिर गएर घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारलाई आग्रह गरिन्।




