काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले अन्य विषयमा अडान राख्न सक्ने भए पनि राष्ट्रियताको सवालमा जिद्दी गर्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउन माग गरिएको लामो समय बितिसक्दा पनि सुनुवाइ नभएको गुनासो गरे।
उनले देशका विभिन्न स्थानमा हिंसाका घटना भइरहे पनि सरकार बेखबर रहेको आरोप लगाए। सांसद राईले सरकार कहाँ छ भन्दै प्रश्न गर्दै अब सरकार जनतामाझ आउनुपर्ने बताए।
उनले देशमा संकटको अवस्था सिर्जना भइरहँदा प्रधानमन्त्री र गृहमन्त्री संसदमा उपस्थित हुनुपर्ने धारणा राखे। सरकार बाहिर निस्केर जनताको समस्या बुझ्नुपर्ने भन्दै उनले बल प्रयोग गरेर समस्या समाधान नहुने बताए।
सांसद राईले देशको पूर्वदेखि पश्चिमसम्मका नेपाली एकताबद्ध भएर संयमित रूपमा अघि बढ्नुपर्ने उल्लेख गरे। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले आह्वान गरेको सर्वदलीय बैठक सकारात्मक भए पनि अहिलेको अवस्थामा पर्याप्त नभएको उनको भनाइ थियो।




