२०८३ श्रावण १९

सुनकोशीमा बेपत्ता कार र यात्रुको खोजी जारी

काठमाडौं । सुनकोशी नदीमा खसेर बेपत्ता भएको कार र त्यसमा सवार तीन जनाको खोजीका लागि सुरक्षाकर्मीले खोजी अभियानलाई तीव्र बनाएका छन्।

बेपत्ता यात्रु र सवारीसाधनको खोजी गर्न सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा खटिएको टोलीसँगै नेपाल प्रहरीका सुरक्षाकर्मी पनि खोजी कार्यमा संलग्न छन्।

लगातारको वर्षाका कारण सुनकोशी नदीमा पानीको बहाव बढेकाले गोताखोरलाई खोजी गर्न कठिनाइ भइरहेको सुरक्षाकर्मीले बताएका छन्।

सोमबार दिउँसो सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि कार सुनकोशी नदीमा खसेको थियो। दुर्घटनामा प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारसहित त्यसमा सवार तीन जना बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार कारमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुली तीनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुरज बलम्पाकी र गोलान्जोर गाउँपालिका–१ का करिब २८ वर्षीय गणेश थापा सवार थिए।

लामा कार चालक रहेको र बलम्पाकी तथा थापा क्रमशः हेल्पर र स्काभेटर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।