२०८३ श्रावण १९

काठमाडौँमा ट्राफिक कारबाहीबाट रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी रु १ करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मादक पदार्थ सेवन (मापसे), तीव्र गति तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याएर उक्त राजस्व सङ्कलन गरिएको हो।

त्यसैगरी, सवारी साधनको स्वरूप आफूखुसी परिवर्तन गर्ने चालकलाई कारबाही गर्दा थप रु ५ लाख ७० हजार राजस्व उठेको उनले जानकारी दिए।

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा दुई लाख ३१ हजार १३७ जनालाई ट्राफिक सचेतनामूलक कार्यक्रममा सहभागी गराएको जनाएको छ।

प्रहरीका अनुसार सोही अवधिमा सुर्खेतमा ९५७ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३७ जनाको मृत्यु भएको छ।

प्रहरी निरीक्षक शाहीले सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको बताए। उनका अनुसार यान्त्रिक समस्या, पैदलयात्रीको लापरवाही, सडक पूर्वाधार, प्रतिकूल मौसम तथा पशुचौपायाको उपस्थितिले पनि दुर्घटना निम्त्याउने गरेका छन्।