काठमाडौं । झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । जिल्लाको करिब ९४ प्रतिशत धानखेतीयोग्य क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने बाँकी क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेको छ ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार साउन १८ गतेसम्म जिल्लामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । बाँकी क्षेत्रमा पनि किसानहरू सक्रिय रूपमा रोपाइँमा जुटिरहेका छन् र आगामी हप्ताभित्र जिल्लाभर रोपाइँ सकिने अनुमान गरिएको छ ।
स्थानीय तहको विवरणअनुसार गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा कम ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै दमक र कन्काई नगरपालिकामा भने ९८ प्रतिशत धान रोपाइँ पूरा भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
झापामा कुल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यो जिल्लाको कुल भूभागको करिब ७६ प्रतिशत क्षेत्रफल हो । धान उत्पादनका हिसाबले झापा देशकै प्रमुख कृषि जिल्लामध्ये एक मानिन्छ ।
यस वर्ष समयमै मनसुन सक्रिय भएकाले अधिकांश किसानले अनुकूल समयमा धान रोप्न पाएका छन् । पर्याप्त वर्षा र अनुकूल मौसमका कारण धान खेती उत्साहजनक रूपमा अघि बढेको कृषि क्षेत्रका अधिकारीहरूले बताएका छन् ।



