काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेश प्रदेशमा हुने आन्दोलन र प्रदर्शनका क्रममा सुरक्षा निकायले प्रयोग गर्ने बलको शैलीमाथि प्रश्न उठाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले मधेश र थरुहट क्षेत्रका आन्दोलनमा राज्य संयन्त्र नागरिकप्रति असहिष्णु देखिने गरेको आरोप लगाए । उनले २०६३ सालदेखि आफू संसद्मा रहेको उल्लेख गर्दै मधेशमा हुने प्रदर्शनहरू नियन्त्रण गर्ने क्रममा लाठी र अश्रुग्याँसको प्रयोगभन्दा अघि नै घातक बल प्रयोग हुने प्रवृत्तिको विरोध गरे ।
“२०६३ सालदेखि म सांसद छु, मेरो प्रश्न राज्यसँग छ– मधेशमा केही समुदायको आन्दोलन होस् वा थरुहट आन्दोलन, त्यहाँ गोली मात्र किन चल्छ? त्यहाँ लाठी र टियर ग्यास किन चल्दैन?” सिंहले प्रतिनिधिसभामा प्रश्न गरे ।
सांसद सिंहले सुरक्षाकर्मीको तालिम र आन्दोलनप्रतिको दृष्टिकोणमा समेत सुधार आवश्यक रहेको बताए । प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग हुनुमा सुरक्षा निकायको तालिम कमजोर हुनु वा आन्दोलनकारीलाई फरक दृष्टिकोणले हेर्ने मनोविज्ञान जिम्मेवार हुन सक्ने उनको भनाइ थियो ।
उनले देशका अन्य क्षेत्र र मधेशमा हुने आन्दोलन नियन्त्रणमा राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिए । नागरिकको जीवन सुरक्षालाई प्राथमिकतामा राख्दै संवाद र राजनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने उनको धारणा थियो ।
मधेशका विरोध प्रदर्शनलाई बल प्रयोगमार्फत दबाउने प्रयासले राज्य र नागरिकबीचको दूरी बढाउने भन्दै सिंहले सरकारको कार्यशैलीमाथि पुनर्विचार गर्न आग्रह गरे ।




