२०८३ श्रावण १७

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न प्रभावकारी कार्यसम्पादन गर्ने सुरक्षा परिषद्को निर्णय

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्ले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम राख्न प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने तथा गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको परिषद्को ४३औँ बैठकले सुनसरीमा हालै भएको घटनाको समीक्षा गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्ने निर्णय गरेको हो।

परिषद्का सदस्य–सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार सबै सुरक्षा निकाय, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने गरी कार्यसम्पादन गरिनेछ।

बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाका साथै समसामयिक घटनाक्रमबारे गम्भीर समीक्षा र विश्लेषण गरिएको पनि सचिव शर्माले जानकारी दिए।

त्यसैगरी, विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय गरी खोज, उद्धार तथा राहतका कार्य समयमै सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।